स्मिथ र कोहलीलाई समेत पछि पारे कप्तान पारश खँड्काले: कप्तान पारसको किर्तिमानी शतक

0
37

एजेन्सी – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले शनिबार सिंगापुरबिरुद्धको टी–२० खेलमा ऐतिहासिक शतक प्रहार गर्दै नयाँ किर्तिमान कायम गरेका छन् । उक्त किर्तिमान बनाउँदा उनले भारतीय कप्तान विराट कोहली र स्टिभ स्मिथ जस्ता दिग्गज ब्याट्सम्यानहरुलाई समेत पछि पारेका छन् ।
ब्याटिङमा नेपालका लागि अधिकांश रेकर्ड राखेका कप्तान खड्काले शनिबार देशबाट टी–२० खेलमा शतक बनाउने पहिलो खेलाडी मात्र बनेनन् उनी यो फर्म्याटमा रन पछ्याउने क्रममा शतक बनाउने पहिलो कप्तान समेत बने ।
यसअघि नेदरल्याण्डका कप्तान पिटर सीलारले १२ दिनअघि स्कटल्याण्डबिरुद्ध ९६ रन बनाउँदै रन पछ्याउने क्रममा कप्तानले बनाएको सर्वाधिक रनको किर्तिमान राखेका थिए ।
यस्तै अस्ट्रेलियाका स्टिभ स्मिथले इङ्ग्ल्याण्डबिरुद्ध बनाएको ९० रन यो सूचीमा चौथो स्थानमा रहेको छ भने त्यसपछि क्रिस गेलले अस्ट्रेलियाबिरुद्ध बनाएको ८८ रन रहेको छ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भने यो सूचीमा आठौँ स्थानमा रहेका छन् । उनले सन् २०१७ मा श्रीलङ्काविरुद्ध ८२ रन बनाएका थिए ।
खड्काले मात्र ४९ बलमा शतक प्रहार गर्दै टी–२० खेलमा छिटो शतक बनाउने एसियाली कप्तानहरुको सूचीमा चौथौँ स्थानमा पर्न सफल भएका छन् । उनले नटआउट रहँदै ५२ बलमा १०६ रन बनाएपछि नेपालले १५२ रनको लक्ष्य ४ ओभर बाँकी छँदै मात्र एक विकेट गुमाएर पछ्यायो । कप्तान खड्काको ऐतिहासिक शतकमा सात चौका र नौ छक्का सामेल थियो ।
सिंगापुरबिरुद्धको खेलमा खड्काको शतकको मात्र किर्तिमान बनेन । नेपालले सिंगापुरले दिएको लक्ष्य पछ्याउँदा कुनै पनि टी–२० खेलको सबैभन्दा कम स्कोरमा कुनै पनि खेलाडीले शतक बनाएको किर्तिमान पनि बनेको छ । यसअघि अस्ट्रेलियाले सन् २०१८ मा इङ्ग्ल्याण्डबिरुद्ध १६१ रन बनाउँदा ग्लेन म्याक्सवेलले अविजित १०३ रन बनाएका थिए ।
त्यस्तै, आरिफ शेखसँग खड्काले गरेको १४५ रनको साझेदारी दोस्रो विकेटका लागि टी–२० खेलमा गरिएको पाँचौ ठूलो साझेदारी पनि रहेको थियो ।शेखले ३८ बलमा ३९ रन बनाउँदै खड्कालाई राम्रो साथ दिएका थिए ।
जिम्बावे पनि सामेल रहेको उक्त त्रिकोणात्मक खेलमा नेपालको यो पहिलो जीत पनि थियो । पहिलो खेलमा नेपाल जिम्बावेसँग पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here