बागलुङमा चारपाङ्ग्रेको लाइसेन्स परीक्षा ११ वर्षपछि पुनःसञ्चालन हुँदै

0
4

म्याग्दी- म्याग्दीलगायत साविक धवलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ । नयाँ मापदण्डअनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुनसकेको थिएन । यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले यसै महिनादेखि चारपाङ्ग्रे सवारीसाधनको ‘लाइसेन्स’ परीक्षा सुरु गर्ने ट्रायल सेन्टर छनोट भइसकेको जानकारी दिए । ‘ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारीसाधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियौँ’, उनले भने, ‘प्रतिस्पर्धामार्फत छनोट भएको धवलागिरि ड्राइभिङ सेन्टर प्रालि बागलुङलाई सम्झौताका लागि बोलाएका छौँ ।’

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्स्टिच्युटले बनाएको संरचना भाडामा लिन लागेको हो । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।

‘कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गर्न लागिएको हो’, प्रमुख थापाले भने, ‘लामो समयसम्म चारपाङ्ग्रेको ट्रायल रोकिँदा बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राही लाइसेन्सका लागि बाहिर जानुपर्ने बाध्यता अब हट्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here