वर्षमा औसतभन्दा १६ किलो बढी भात खान्छन् नेपाली

0
17

काठमाडौं- विश्वमा एक व्यक्तिले औसत कति किलो भात खान्छन् ? संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको जवाफ छ, औसत १ सय २१ किलो चामल । तर, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको यो जवाफभन्दा बढी नेपालीले भात खान्छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अध्ययन भन्छ, ‘नेपालीहरू वार्षिक १ सय ३७ किलो चामल प्रयोग गर्छन् ।’ यो भनेको संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले भनेको भन्दा १६ किलो बढी हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अध्ययनले नेपालीहरूले औसतभन्दा धेरै भात खाने गरेको देखाए पनि दक्षिण एसियामा भने तेस्रो स्थानमा पर्छ । विवरणअनुसार दक्षिण एसियामा सबैभन्दा धेरै भात खाने देशको सूचीमा बंगलादेश पहिलो र श्रीलंका दोस्रो नम्बरमा पर्छ । बंगलादेशमा प्रतिव्यक्ति वार्षिक २ सय ६६ किलो र श्रीलंकामा १ सय ६४ किलो चामल खपत हुन्छ । दक्षिण एसियाभन्दा बाहिरको मुलुक लाओसका जनताले पनि बंगलादेशकै जनताबराबर वार्षिक २ सय ६६ किलो चामल खपत गर्ने गर्छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको अध्ययनको निष्कर्ष सुनाउँदै भन्छन्, ‘नेपालीले चामलको प्रयोग चाहिनेभन्दा अधिक मात्रामा गरिरहेको देखिएको छ । नेपालीको औसत चामलको उपभोगमा १६ किलो अधिक देखिएको छ ।’ चामलको अधिक प्रयोग सरकारका लागि टाउको दुखाइ विषय बन्दै गएको छ । एकातिर चामल प्रयोगमा देखिएको व्यापकता र उत्पादनमा देखिएको संकुचनका कारण परनिर्भरता बढिरहेको छ ।

मन्त्रालयका प्रवक्ता सञ्जेलका अनुसार, भातमाथिको परनिर्भरता हटाउन उत्पादन बढाउने काम गर्न तत्काल सम्भव छैन । ‘यसको एक मात्र उपाय भनेकै खानाको बानीमा सुधार ल्याउने, अन्य उत्पादन बढाउने र वैकल्पिक आहारमा क्रमिक रूपमा जोड दिनु नै हो,’ उनको भनाइ छ । नेपालमा जुन अनुपातमा जनसंख्या वृद्धि भइरहेको छ, धान उत्पादन भने त्योभन्दा निकै कम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here