१० वर्षमा बनेको पक्की पुल सडक नबन्दा उपयोगविहीन

0
3

खोटाङ- दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल गत पुसमा सञ्चालनमा ल्याइएको थियो । निर्माण कम्पनी गौरी-पार्वती-वाइपी जेभीले विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते सम्झौता गरेको सुनकोसीस्थित फोक्सिङटार पक्की पुल १० वर्षपछि सञ्चालनमा ल्याइएको हो। तराईसँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो । तर सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्ड कालोपत्रको काम निर्माण कम्पनीको लापरवाहीले समयमा सम्पन्न नहुँदा विगतदेखि जिल्लावासीले भोग्दै आएका समस्या ज्यूँका त्यूँ छ ।

पुल निर्माणमा निर्माण कम्पनीको लापरवाहीका कारण ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान गर्ने तथा झिक्ने क्रममा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो । फोक्सिङटार पुल निर्माणका लागि सडकबाट सदनसम्म चौतर्फी दबाब दिँदा–दिँदा १० वर्षपछि पुल त बन्यो तर सडक कालोपत्र नहुँदा उक्त मोटरेबल पक्की पुल उपयोगविहीनजस्तै भएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल एक सय २० मिटर लामो छ । दश वर्षपछि निर्माण सम्पन्न गरिएको फोक्सिङटार पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here