जुन २१ देखि छेन्दु-पोखरा सिधा उडान गर्ने चीनको तयारी

0
9

काठमाडौं- चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी बिच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो । भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरुले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौं देखि सौहार्दपूर्ण एबम अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी बर्षहरुमा नेपाल र चीन बीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताएका छन् । अध्यक्ष तिमिल्सिनाले घनिष्ट मित्र एबम विकासको साझेदार र असल छिमेकीको रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधै उच्च महत्व र प्राथमिकता दिदैं आएको बताउँदै नेपाल सधै एक चीन नीतिको पक्षमा रहेको समेत पुन दोहोराएका छन् । पछिल्ला दिनहरुमा नेपाल र चीनको बिद्यायिकी सम्बन्ध बिस्तार हुँदै गएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध लगायत हाम्रा दुई विधायिकाबीचको सम्बन्धलाई समेत थप मजबूत बनाउनेछ बिश्वास पनि ब्यक्त गरेका छन । चीन नेपालका पर्यटक स्रोत मुलुकहरुमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै ‘आउट ब्याण्ड टुरिष्ट ग्रुप’ मा राखेकोमा खुसी पनि ब्यक्त गरेका छन् । चीनिया ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुरूयाउनेमा बिश्वस्त रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले चीनका बिभिन्न सहरबाट सोझो उडान हुने बिश्वास ब्यक्त गरे । नेपाल चीनबीच केरुङ-रसुवागढी, हिल्सा-पुराङ र तातोपानी-झाङमु नाकाहरु मार्फत दुईतर्फी व्यापार सुचारु भएको उल्लेख गर्दै आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाकाहरु सञ्चालन हुने बिश्वास पनि ब्यक्त गरेका छन् । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगको लागि उनको अनुरोध थियो । उक्त भेटमा चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लिजीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका बिषयलाई चीनले गम्भीरतापुर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिएका छन । उनले चीनको छेन्दुबाट पोखरा उडानका लागि चीन तयारी अबस्थामा रहेको जानकारी दिएको अध्यक्ष तिमल्सीनाको सचिवालयले जनाएको छ । पोखरा बिमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी जुन २१ देखि उडान सुरु गर्ने चीनको तयारी रहेको लिजीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here