पुरुषसँग रेस्लिङ खेल्छिन् ‘लेडी ड्र्यागन’: माओवादी लडाकु हुँदै रेस्लिङसम्म

0
6

काठमाडौं – नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ। तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ। कतिपय रेस्लिङका पारखीलाई त महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ र भन्ने पनि लाग्दो हो। आफूलाई ‘लेडी ड्रयागन’ नामले चिनाउने मुना श्रेष्ठ यस्तो रेस्लर हुन्, जो पुरुषसँगै खेल्छिन्। उनी महिला रेस्लरभन्दा पनि पुरुष रेस्लरसँग बढी प्रतियोगिता खेल्दै आएकी छन्। खोटाङको दिक्तेलमा जन्मेकी यी नेपाली महिला रेस्लरको प्रतिस्पर्धा नेपालमा मात्र सीमित छैन, विभिन्न देशमा खेलेर अन्तर्राष्ट्रिय अवार्ड पनि हात पारेकी छन्। ‘रेस्लिङ हेर्दा थोरै वास्तविकता धेरै नाटक भन्ने आम मानिसलाई लाग्न सक्छ तर मैले खेल्ने रेस्लिङ मनोरञ्जन नभई पूरै वास्तविकता हुन्छ’, नेपाली रेस्लर मुना भन्छिन्। महिलाले महिलासँग खेल्ने खेलाडी त धेरै छन् तर हाम्रो समाजमा महिलाले पनि पुरुषसरह खेल्न सक्छन् भन्ने उदाहरण दिनका लागि पनि आफूले पुरुष रेस्लरसँग खेल्ने गरेको उनी बताउँछिन्। त्यसो त उनीसँग महिला खेल्न पनि मान्दैनन्। कतिपय देशका महिला खेलाडी पनि उनीसँग खेल्न डराउँछन्। त्यसकारण पनि उनले पुरुषसँग खेल्नुपर्ने हुन्छ। सन् २०१७ देखि खेल्न सुरु गरेकी मुनाले विशेषगरी तीन विधामा रेस्लिङ खेल्दै आएकी छन्। यसमा हार्डकोर (साइन गरेर खेल्ने), फायर म्याच (आगोमा खेल्ने) र ब्लड म्याच छन्। यी तीनै खेल निकै कठिन हुने र ज्यानको बाजी राखेरै खेल्नुपर्ने उनको अनुभव छ। उनले खेल्ने हरेक खेल नाटकीय नभई यथार्थपरक हुने गरेका छन्।​ विशेषगरी रेस्लिङ मनोरञ्जनमुखी खेल भएका कारण हार्डकोर खेल्ने खेलाडीसँग खेल्न अन्य महिला रेस्लर रुचाउँदैनन् र सक्दैनन् पनि। हार्डकोर मनोरञ्जनभन्दा पनि वास्तविक हुन्छ र यो कठिन हुन्छ। यस खेल खेल्नुअघि पहिला नै खेलाडीलाई खेल दौरान रिङमा केही भइहाले वा ठूलै चोटपटक लागेमा खेलाडीको परिवारले खोज्न या विरोध गर्न पाउँदैन भनेर सुरुमै हस्ताक्षर गराएको हुन्छ। त्यसकारण पनि स्वदेशी तथा विदेशी महिला रेस्लरले उनीसँग खेल्न नमान्ने उनको भनाइ छ। ‘रिङमा कुटाकुट गरेको दृश्य देख्दा दर्शक जति उत्साहित हुँदै ताली पिट्छन् त्यति नै रिङमा आफूले जोखिम उठाउनुपर्ने हुन्छ, कहिलेकाहीँ त ज्यानै जाने सम्भावना पनि हुन्छ। यसकारण पनि महिला खेलाडी यस खेलमा त्यति उत्साहित छैनन्’, उनको अनुभव छ। कतिपय खेलमा त रगतको धारा बगेको र त्यो निको हुन महिनौं लागेको अनुभव पनि उनीसँग छ। यसका बाबजुद पनि उनी देशको नाम राख्न हरदिन मेहनत गरेको बताउँछिन्।उनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भेट्टाएसम्म छोड्दिनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here