चैत्र १८ गतेदेखि दुईतर्फी सञ्चालनमा आउँदै रसुवागढी नाका

0
5

काठमाडौं – चीन रसुवागढी-केरुङ नाका पूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ। नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको ल्हासामा भएको बैठकमा चीन यही चैत १८ गतेदेखि नाका दुईतर्फी सञ्चालन गर्न सहमत भएको हो। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले नाकाबाट निकास र प्रवेशद्वार सहज बनाई दुईतर्फी व्यापार तथा जनस्तरको आवत जावत पनि खुलाउन चीन सहमत भएको जनाएको हो। यसैगरी, आगामी बैशाख १८ गतदेखि तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार तथा यारी÷पुलाङबाट मानव आवागमन सुचारु गर्ने सहमति पनि भएको छ। कोरोना महामारीका कारण तीन वर्ष ठप्प भएका प्रमुख दुई नाका खोल्न चीन सहमत भएको छ। बैठकमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्र सरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। बैठकमा सीमापार व्यापार र जनस्रतको आवतजावतलाई अधिकतम रुपमा संचालन गर्ने, सुख्खा बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार, सीमा व्यापारका लागि नयाँ बाटो खोज्ने विषयमा छलफल पनि महावाणिज्य दूतावासको विज्ञप्तिमा उल्लेख छ। यस्तै, नेपालले सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न अनुरोध गरेकोमा चीन सहमत भएको जनाइएको छ। नेपालबाट अमिलो जातका फलफूल, ‘ड्राइ मिट’ र औषधिजन्य जडीबुटीजस्ता कृषि तथा पशुजन्य उत्पादनको निर्यातमा पन सहयोग गर्ने आश्वासन चिनियाँ पक्षले दिएको जनाइएको छ। नेपाली पक्षले काठमाडौं–ल्हासा सिधा उडानका लागि चीनलाई आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here