भट्टराईको सर्तमा नाम फेर्दै माओवादी केन्द्र

0
6

काठमाडौं- नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकीकरण गर्ने क्रममा नेकपा माओवादी केन्द्रको नाम नै परिवर्तन हुने भएको छ। माओवादी पार्टी छाडेको सात वर्षपछि पार्टीमा फर्कन लागेका बाबुराम भट्टराईले सर्त राखेर फर्कने भनेपछि नाम परिवर्तन गर्न लागिएको हो। ‘माओवादी केन्द्रले नाम परिवर्तन गर्न र अध्यक्ष पुष्पकमल दाहालपछिको दोस्रो वरीयता दिन सहमत भइसकेको छ, यसलाई दुई पार्टीको एकीकरणको प्रक्रियामा राखेर टुङयाइनेछ,’ माओवादी केन्द्रका एक नेताले भने। ती नेताका अनुसार अध्यक्ष दाहालले पार्टीको नामको अगाडि नेकपा राख्नुपर्ने अडान लिएपछि पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति भएको छ। ‘एकतापछि पार्टीको नाम नेकपा समाजवादी हुनेछ,’ स्रोतले भन्यो। माओवादी केन्द्रले वामपन्थीलाई एक ठाउँमा ल्याउनेगरी कार्यदल बनाएको छ। उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत सदस्य रहेको कार्यदल बनेको हो। सो कार्यदलले भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीसँग कुराकानी गरेर अघि बढ्नेछ।कार्यदलमार्फत सबै विषय टुंङयाएपछि दुई पार्टीबीच एकता हुनेछ। एकतापछि दाहाल र भट्टराई दुवै एउटै पार्टीमा रहनेछन्। भट्टराई सात वर्षअघि माओवादीबाट राजीनामा दिएर नयाँ शक्ति पार्टी बनाई अलग्गिएका थिए। माओवादीसँग छुट्टिँदा भट्टराईले माओवादी लडाकु व्यवस्थापनमा अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य नेतृत्व तहका नेताले अर्बौं रूपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए। माओवादी छाडेको ७ वर्षपछि ती सबै आरोप बिर्संदै भट्टराई माओवादीमै फर्कने भएका हुन्। माओवादी केन्द्रको शनिबार बसेको सचिवालय बैठकले ‘फास्ट ट्र्याक’ विधिबाट दुई पार्टी एकता गर्ने र प्रचण्डपछिको दोस्रो वरीयतामा रहेर भट्टराईलाई पार्टी काममा लगाउने गरी प्रक्रिया अघि बढाइसकेको छ। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here