नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु, लुक्ला क्षेत्रमा तापक्रम माइनस दुई

0
2
Cold Rain Window Wet Snow

सोलुखुम्बु- केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन्। शुक्रबारबाट नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्यधिक बढेको लुक्लाका तोयाकुमार श्रेष्ठले जानकारी दिए। चिसोका कारण त्यहाँका नागरिकहरू आगो तापेर बसेका छन् भने घरबाहिरको काम गर्नसमेत कठिनाइ भएको बताइएको छ। चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी प्रभावित बनाएको छ। लुक्लाको न्यूनतम तापक्रम माइनस १.६ डिग्री सेल्सियसभन्दा तल झरेको हावापानी मापन केन्द्र लुक्लाले जनाएको छ। लुक्लाभन्दा माथिल्लो क्षेत्रको तापक्रम भने माइनस दुईभन्दा कम रहेको बताइएको छ। तापक्रम घटेसँगै पानी जम्न थालेकाले दैनिकी कष्टकर बनेको हो। खुम्बु क्षेत्रसहित सोलुदूधकुण्ड नगरपालिकाका अधिकांश वडामा केही दिनयता मौसममा खराबी भएपछि स्थानीय बासिन्दा तथा चौपाया प्रभावित भएका छन्। सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिकेडाँडा, टाक्सिन्दु, बेनी, जुभिङलगायत आधा दर्जन गाविससहित आसपासका डाँडामा सेताम्मे तुसारो परेको छ। चिसो बढेलगत्तै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ। चिसोका कारण हुने निमोनिया, रुघाखोकी, टाइफाइड, ज्वरोका बिरामीको सङ्ख्या बढेको हो। चिसोमा बिरामी हुनबाट बच्नका लागि न्यानो कपडा लगाउने तथा खानपानमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ। बाक्लो कुहिरोसमेत लाग्न थालेपछि जिल्लाको माथिल्लो तथा तल्लो क्षेत्रमा अत्याधिक चिसो बढेको हो। अहिले सदरमुकाम सल्लेरी र आसपासका स्थानीय बासिन्दालाई चिसोले घर बाहिर निस्किन समस्या भएको पाइएको छ। गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here