यसरी भत्कियो गठबन्धन

0
3

काठमाडौं- सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा (माओवादी केन्द्र) राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बरु राष्ट्रपति छाड्ने तर प्रधानमन्त्री कुनै हालतमा नछाड्ने हठ लिए । आइतबार बिहानै सोही सन्देशसहित देउवाले नेता विमलेन्द्र निधिलाई दूत बनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पठाए । तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई नै बनाउन तयार थिए । सोही आशयसहित पौडेल र प्रचण्डबीच संवाद पनि चलिरहेकै थियो । प्रचण्ड राष्ट्रपतिसहित सभामुख पनि कांग्रेसलाई छाड्न तयार बनिसकेका थिए। शनिबार बालुवाटारमा भएको गठबन्धन बैठकमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री कुनै हालतमा नछाड्ने भन्दै राष्ट्रपतिमा माधव नेपाललाई प्रस्ताव गरे । सहमतिको वातावरण त्यहीँबाट भाँडियो । प्रचण्ड देउवाप्रति सशंकित हुँदै रुष्ट बने । कांग्रेस नेता पौडेल भन्छन्, ‘राष्ट्रपति र सभामुख छाड्न प्रचण्ड तयार थिए, देउवा प्रधानमन्त्री छाड्न तयार भएनन्, उनले माधव नेपाललाई राष्ट्रपति बनाउने विषय ल्याए, अवस्था बिग्रियो ।’ आइतबार पनि गठबन्धनमा सहमतिका लागि प्रयास भए । निधिसँगको भेटपछि प्रचण्ड आफैं देउवालाई भेट्न बालुवाटार पुगे । तर, देउवा टसमस भएनन् । र प्रचण्ड बालुवाटारबाट निस्किएर बालकोट हानिए । प्रचण्डको बालकोट प्रवेशसँगै सत्ता गठबन्धन भत्कियो । राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here