बहुमत नै नपुगेका हरुवाहरूले कसरी सरकार बनाउँदा रहेछन्, हेरौं नः शेरबहादुर तामाङ

0
4

काठमाडौं- नेकपा एमालेका नेता शेरबहादुर तामाङले आफ्नो पार्टी अर्को गठबन्धन बनाउने तयारीमा नरहेको बताएका छन् ।
‘एमालेलाई एक्लै पारेर दुई तिहाइको सरकार बनाउँछौं भन्नेहरुको बहुमत पुगेको छैन । हरुवाहरुले कसरी सरकार बनाउँदा रहेछन्, हेरौं न । माओवादीका महासचिवसँग हाम्रा अध्यक्षको शिष्टाचार भेटघाट मात्र हो । सरकार गठबन्धनको उद्देश्यले भएको होइन । अहिले हामी त्यो दौडमा छैनौं । तर एमाले हरहमेसा विकल्प दिन तयार छ । कसैलाई प्रधानमन्त्री बनाउँछौं भनेर चारो हालेर बसेका छैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै तामाङले भने ।
पूर्वकानुन मन्त्री समेत रहेका तामाङले कामचलाउ सरकारले अध्यादेश ल्याउनु गलत भएको पनि बताए । उनले थपे, ‘नयाँ संसद आइसकेपछि उसको अधिकार क्षेत्र कुण्ठित गर्न मिल्दैन । अध्यादेश त संसद नभएको बेला ल्याउने हो । पहिले हामीलाई अध्यादेशको भरमा देश चलाउने भनेर सोधिएको होइन ? यसपटक सरकारले गलत उद्देश्य राखेर ल्याएको हो, कसैलाई उन्मुक्ति दिने वा फाइदा लिने उद्देश्यले गरेको हो ।’ संविधानमा राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार छ कि छैन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘मैले रोक्ने अधिकार छ भनिनँ । अध्यादेश बाटोमा छ । राष्ट्रपतिले अध्यादेश रोक्ने वा नरोक्ने कुनै पनि कार्यकारी निर्णय गर्नुभएको छैन । विवाद भएपछि बुझबुझारथ, राजनीतिक परामर्श गर्ने अधिकार छ नि राष्ट्रपतिलाई । संविधानको संरक्षकका हिसाबले उहाँले त्यो काम गर्न सक्नुहुन्छ ।’
अर्को प्रसंगमा एमाले नेता तामाङले नवनिर्वाचित सांसद रवि लामिछानेले नागरिकता प्रकरणमा कीर्ते गर्ने नियत राखेर बिगारेको भन्दा पनि सावधानी नपुर्‍याएको टिप्पणी गरे । उनले भने, ‘उहाँको नागरिकताबारेमा प्रश्न उठेका छन् । उचित समयमा ध्यान नदिएको भए चर्चा र विवादको विषय बन्दैनथ्यो । तर उहाँले अहिले प्रयोग गरेको नागरिकता नेपाली नागरिकता नै हो । रविको नागरिकता निर्वाचन आयोगले त्यतिबेलै हेर्नुपर्थ्यो, अब सर्वोच्च अदालतको कार्यक्षेत्रमा पुग्यो । सर्वोच्च अदालतमा रिट परेपछि उसले व्याख्या गर्ला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here