निर्वाचनका लागि ७ लाख मतदाताले उपत्यका छाड्दै

0
10

काठमाडौं- आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन, २०७९ का लागि ७ लाख बढी मतदाताहरूले उपत्यका छाड्ने भएका छन् । निर्वाचनमा भोट हाल्नकै लागि विभिन्न जिल्ला तथा क्षेत्रबाट काठमाडौं आएका मतदाताहरू आ–आफ्नै क्षेत्रमा फर्किने भएका हुन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबारसम्ममा करिब ६ लाख यात्रुहरूले उपत्यका छाडेका छन् । दशैं–तिहार लगत्तै निर्वाचनको चहलपहल सुरु भएपनि कात्तिक २५ गतेदेखि मतदाताहरूले उपत्यका छाड्न थालेकोमा मंसिर ३ गतेसम्म यस्तो संख्या ७ लाख पुग्ने देखिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । सिटौलाका अनुसार चुनावकै लागि विभिन्न पार्टीहरूले र व्यक्तिगत खर्चमा समेत गाडी रिजर्भ गरेर मतदाताहरूलाई जिल्ला जिल्लामा र स्थानीय निर्वाचन क्षेत्रमा लैजाने काम भइरहेको छ । जसका कारण पछिल्ला दिनहरुमा सरदर दैनिक सञ्चालन हुने गाडीहरूको तुलनामा ५० प्रतिशत बढीले माग बढेको र साहीअनुसार गाडीहरू सञ्चालन भइरहेको उनले बताए । खासगरी चुनावका लागि उपत्यका भित्रका भन्दा लामा रुटका गाडीहरूको प्रयोग बढी भइरहेको उनको भनाइ छ । चुनावमा प्रयोग भएको गाडीको एकिन तथ्याङ्क नभएपनि अधिकांश रुटका गाडी र निजी गाडीहरुको समेत प्रयोग भइरहेको उनको भनाइ छ ।

दैनिक ६० हजार यात्रु उपत्यका छाड्दै

उसो त चुनावकै मुखमा दैनिकजसो ६० हजार हारहारीमा यात्रुहरूले सडकमार्ग हुँदै उपत्यका छाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत बुधबार एकैदिन ५८ हजार २९४ जना यात्रुहरूले उपत्यका छाडेकोमा बिहीबार ५५ हजार १४७ जना र शुक्रबार मात्र १ लाख हाराहारीमा यात्रुहरूले उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।शनिबार उपत्यका छाड्ने यात्रुहरू थप बढ्न सक्ने ट्राफिक प्रहरीको अनुमान छ । (समाचार स्रोत – न्युजसेवा डट कम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here