दोस्रो चरणमा देउवालाई नसघाउने विमलेन्द्र निधिको घोषणा

0
8

काठमाडौं – नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव भएमा आफूले शेरबहादुर देउवालाई नसघाउने घोषणा गरेका छन् । आइतबार भृकुटीमण्डपमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै निधिले भने, ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन । त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ। त्यसबेला देउवा इतर रहेका हामी सबै एक हुन्छौं ।’
काँग्रेस सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङसँगै निधिले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसअघि देउवा गुटमा नै रहेका निधिले दोस्रो चरणमा देउवालाई सघाउन सक्ने अनुमान गरिँदै आएको थियो । तर, सबैको अनुमानविपरीत निधिले दोस्रो चरणमा देउवाइतर समूहसँग मिल्ने खुलासा गरे । पछिल्लो समय देउवा र निधिबीच सम्बन्ध चिसिएको छ । निधिले सभापतिमा उम्मेदवारी घोषणा गरे पनि देउवाले उनीप्रति कुनै चासो देखाएका छैनन् । बरु कृष्णप्रसाद सिटौलासँग तालमेल गरेका छन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिले पदाधिकारीहरुको पूर्ण प्यानल बनाउन नसकेपछि उनी पहिलो चरणबाट नै आउट हुने सम्भावना बढेको छ । पहिलो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने र सिंहसँगै निधि पनि आउट हुने विश्लेषण गरिँदै आएका बेला निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाउने ठोकुवा गरेका छन् । नेपाली काँग्रेसको विधानअनुसार सभापतिको उम्मेदवारले जित हात पार्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । कसैले पनि ५० प्रतिशत मत नल्याए दोस्रो चरणमा पहिलो र दोस्रो हुने दुई उम्मेदवारबीच पुनः मतदान गर्ने विधानमा व्यवस्था छ । (स्रोत- न्युज सेवा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here