तस्करलाई सघाएको आरोपमा विमानस्थलबाटै पक्राउ परे प्रहरी जवान

0
5

काठमाडौं – सुनको ‘बाला’ तस्करलाई सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी जवानलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् । जवान केसी पूर्वलडाकु हुन् । ६ लाख लिएर स्वेच्छिक अवकास रोजेपछि उनी प्रहरीमा भर्ना भएका थिए । अहिले उनीमाथि सुन तस्करलाई सघाएको आरोप छ । विदेशबाट फर्केका यात्रुसँग मिलेर सुन पास गराउन सहयोग गरेको भेटिएपछि उनीमाथि अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए । मंसिर १३ मा विमानस्थल भन्सार कार्यालयले ५० ग्रामका बाला ल्याउनेहरुसँग भन्सार महसुल लिन शुरु गरेको थियो । भन्सारमा सुरक्षा जाँच कडाई गरिएको थियो । त्यसैदिन ताप्लेजुङ घर भएका दुर्गाधन लिम्बुले ल्याएको ५० ग्रामको बाला केसीले अध्यागमनको काउन्टर नजिकै आफुले लिए । अनि, दुर्गाधन सहजै भन्सारबाट बाहिरिए । सो सुन दुर्गाधनको आफ्नो थिएन । उनलाई विदेशमा विमानस्थलमा भेटिएका अपरिचित मान्छेले ‘भरिया’ बनाएर पठाएका थिए । विमानस्थलको पार्किङमा सुन तस्करी समूहका एजेन्ट दुर्गाधनलाई कुरेर बसेका थिए । विमानस्थल सुरक्षा कार्यालयका अनुसन्धान अधिकारीहरुले सिसिटिभी जाँच गर्दा केसीले सुन लिएको देखिएको छ । सो सुन बरामद गरिएको त्रिभुवन विमास्थल सुरक्षा कार्यालयका एकजना अधिकृतले बताए । शुक्रबार पक्राउ परेका प्रहरी जवान केसी र सुन ल्याउने दुर्गाधनलाई भन्सार ऐन अनुसार कारवाही गरिने प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here