महाधिवेशनका लागि जुट्यो नेपाली कांग्रेस ,राष्ट्रिय सभागृह र भृकुटीमण्डप बुकिङ

0
15

काठमाडौं – नेपाली कांग्रेस महाधिवेशनको तयारीमा जुटेको छ । मंसिर ९ देखि १३ गतेका तय भएको १४ औं महाधिवेशनका लागि कांग्रेसले राष्ट्रिय सभा गृहको हल र भृकुटीमण्डप मंगलबार बिहान बुकिङ गरेको हो । महाधिवेशनका लागि भृकुटीमण्डप र मतदानका लागि राष्ट्रियसभा गृहलाई प्रयोग गरिने छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर ७ देखि १४ गतेसम्म ८ दिनका लागि भृकुटीमण्डप बुकिङ गरिएको छ । कांग्रेसले छैटौ पटक महाधिवेशनको मिति परिमार्जन गरेको छ । पटक–पटक मिति तोक्दै सार्दै आएको कांग्रेसले शनिबार महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । मंसिरमा हुने महाधिवेशनका लागि कांग्रेसले तीन महिना अघि नै हल बुकिङ गरेको हो । कांग्रेसको १३ औं महाधिवेशन पनि राष्ट्रिय सभा गृहमै सम्पन्न भएको थियो । संवैधानिक रुपमा भदौ २३ अघि महाधिवेशन गरिसक्नुपर्ने दवावमा कांग्रेस थियो । तर क्रियाशील सदस्यता टुंग्याउन नसकेका कारण महाधिवेशन मंसिरमा सरेको हो । त्यस्तै कांग्रेसले विधान र नियमावली छपाइ पनि सुरु गरेको छ । क्रियाशील सदस्यताको बाँकी काम मंगलबारसम्म टुंग्याउने कार्यतालिका छ । बारा, सप्तरी लगायत विभिन्न १३ निर्वाचन क्षेत्रमा देखिएका क्रियाशील सदस्यता विवाद टुंग्याउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिइएको थियो । त्यस्तै निर्वाचन निर्देशिकामा आवश्यक परिमार्जनका लागि बुधबारसम्मको समय दिइएको छ । कांग्रेसले भदौ १० सम्म विधान, नियमावली र क्रियाशील सदस्यताको सूची जिल्ला जिल्लामा पठाइसक्ने जनाएको छ । कांग्रेस अधिवेशन भदौ १८ बाट सुरु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here