नेकपा दाबी गर्न आज प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

0
73

काठमाडौ – नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन्। प्रधानमन्त्री ओलीको सचिवालय स्रोतका अनुसार उनी आज बिहान ११ बजे कान्तिपथस्थित आयोगको कार्यालय पुग्नेछन्। नेकपा विभाजनसम्बन्धी विवादबारे छलफल गर्न उनी आयोग जान लागेका हुन्।
छलफलका लागि आयोगले नेकपाका दुवै पक्षलाई माघ १६ गते नै उपस्थित हुन भनेको भए पनि प्रचण्ड–नेपाल पक्षले समय मागेको हुनाले छलफल हुन सकेको थिएन। प्रचण्ड–नेपाल पक्षका नेताले आफ्ना दुवै अध्यक्ष उपत्यकाबाहिर रहेको भन्दै छलफलको समय केही दिन सार्न आयोगसँग आग्रह गरेपछि ओली पक्षका सुवास नेम्वाङसहितका नेता आयुक्तहरूसँग अनौचापरिक छलफल गरेर फर्किएका थिए।
त्यसको केही दिनपछि प्रचण्ड र माधव नेपाल आफ्नो टोलीसहित निर्वाचन आयोग पुगेर आफू आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गरेका थिए।अब आज प्रधानमन्त्री ओली आयोगमा गएर आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गर्नेछन्। साथै उनले सरकारले वैशाख १७ र २७ का लागि तोकेको निर्वाचनको तयारीबारे पनि आयोगसँग जानकारी लिने स्रोतले जनाएको छ। गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेयता सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएको छ।
प्रचण्ड–नेपाल पक्षले बहुमत केन्द्रीय सदस्य आफूसँग भएकाले आफू नै आधिकारिक नेकपा भएको दाबी गरिरहेको छ भने ओली समूह पनि आफू नै मूल पार्टी भएको अडानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here