सरकारी पैसा हिनामिना र घुस खाएका एक चिनियालाई मृत्युदण्ड

0
126

चीनले एकजना पूर्वबैंकर र पार्टी अधिकारीलाई मृत्युदण्ड दिने भएको छ। घुस खाएको, सरकारी पैसा हिनामिना गरेको र बहुविवाहको आरोप लागेका लाइ सिआओमिनलाई तिआन्जिन अदालतले मृत्युदण्डको फैसला सुनाएको हो। सिआओमिन यसअघि राज्यनियन्त्रित चाइना होआरोङ एसेट म्यानेजमेन्टका अध्यक्ष थिए। उनले १० वर्षमा १.७९ अर्ब युआन घुसबापत् लिएको बताइएको छ। त्यतिबेला उनी नियामकका रूपमा पनि काम गरिरहेका थिए। अदालतले सिआओमिनले धेरै रकम घुस लिन आफ्नो पदको दुरूपयोग गरेको निष्कर्ष निकालेको छ। उनले मानिसहरूलाई जागिर दिन, बढुवा गर्न र ठेक्का पार्न पनि घुस लिने गरेका थिए।

सिआओमिनलाई सन् २०१८ को अप्रिलदेखि अनुसन्धान थालिएको थियो। त्यही बेला उनलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट पनि निष्कासित गरिएको थियो। तियान्जिन अदालतले सिआओमिनले धेरैजसो अपराध सन् २०१२ को चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं सम्मेलनपछि गरेको जनाएको छ।

उक्त सम्मेलनबाट सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चुनिएका थिए। पछि चीनको राष्ट्रपति चुनिएका उनले भ्रष्टाचारविरोधी अभियान नै चलाएका थिए। सीको अभियानका क्रममा लाखौं अधिकारीहरूलाई अनुसन्धान र सजाय गरिएको थियो। सीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई समाप्त पार्न यस्तो अभियान चलाएको आरोप उनीमाथि लाग्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here