​राणाकालमा भीमफेदी देखी काठमाडौं सम्म गाडी बोक्ने जिउँदो इतिहास घलानको निधन

0
124

काठमाडौं – तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्ये मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास हिराबहादुर घलानको मंगलबार राति निधन भएको छ ।
घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ । दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाको निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र थिए । वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए । जीवनभर २५ गाडी बोकेका घलानले विसं २००६ देखि नै गाडी बोक्न शुरु गरेका थिए । उनले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोकेका थिए भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेका थिए । राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे । थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए । आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले सुनाएका थिए । एक वर्षदेखि पक्षाघातले थलिएका उनी घरमै बसेर आराम गरिहेका थिए । उनका दुई छोरा र तीन छोरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here