२ बेहुला र जन्ति जग्गेबाटै पक्राउ परे

0
354

काठमाडौ – उमेर नपुगी बिबाह गर्ने दुई बेहुलासहितका जन्तीलाई प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय खुर्कोटले बेहुला–बेहुलीसहितका जन्तीलाई जग्गेबाटै पक्राउ गरेको हो। दुबै विवाह शुक्रबार हुँदै थिए। विशेष सूचनाको आधारमा खुर्कोटबाट गएको प्रहरी टोलीले उनीहरुलाई जग्गेबाटै पक्राउ गरेको हो।
सुनकोशी गाउँपालिका ४ भोर्लेनीकी १५ वर्षीया किशोरीसँग विवाह गर्ने २५ वर्षीय युवकसहित १० जना जन्तीलाई जग्गे बाटै नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शान्ता वाइवाले जानकारी दिइन्। प्रहरी बिहे घरमा पुग्दा सहभागीको भागाभाग चलेको थियो।
यस्तै सुनकोशी– ३ मझुवाबेँसीकी १७ वर्षीया किशोरीसँग विवाह गर्ने २२ वर्षीय युवकसहित उनीहरुका आफन्तलाई पनि जग्गेबाटै पक्राउ गरिएको छ । पुरेत र अन्य सहभागी भने भागेका छन्। उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरुमाथि कानुनी कारबाही अघि बढाइएको डिएसपी श्याम खत्रीले जानकारी दिए। दुबै किशोरीलाई हाल जिल्ला प्रहरी कार्यालयको महिला सेलमा राखिएको छ। उनीहरुलाई महिला बालबालिका सेवा केन्द्रमा राखेर परामर्श दिने तयारी प्रहरीले गरेको छ।
भोर्लेनीकी १५ वर्षीया किशोरीले २५ वर्षीय युवकसँग प्रेम विवाह गरेको प्रहरी अुनसन्धानबाट खुलेको छ। युवक र किशोरी दुबै तामाङ समुदायका हुन्। किशोरी केही दिन युवकको घरमा गएर बसेपछि परंपराअनुसार बेहुलीको घरमा बेहुला जन्तीसहित पगेका थिए। मझुवाबेँसीकी १७ वर्षीया किशोरीसँग विवाह गर्ने युवक महोत्तरी बर्दिबासका भएको प्रहरीले जनाएको छ। उनीहरुको मागी विवाह हो। नेपालको मुलुकी अपराध संहिताले २० वर्ष उमेर नपुगेका केटाकेटीलाई विवाह गर्न निषेध गरेको छ।

                                                                                                                        
                                                                                स्रोत : न्युज सेवा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here