‘सानो छ देश, ठुलो छ सरकार, अटेन किसान’ भन्दै उखु किसान फेरि आन्दोलनमा

0
285

काठमाडौं- चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै उखु किसान पुनः आन्दोलित भएका छन्। उनीहरूले आइतबारदेखि काठमाडौँमा आन्दोलन थालेका हुन्। माइतीघर मण्डलामा उखु किसान सङ्घर्ष समितिको आयोजनामा चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु नभएको विरोधमा प्रदर्शन भएको हो ।
उखु किसान सङ्घर्ष समिति अध्यक्ष राम स्वायत राय, सचिव हरिश्याम रायसहित झण्डै २५ जना उखु किसान विरोधमा सहभागी भएका छन् । यसअघि उखु किसानको आन्दोलनमा आफ्नो साथ तथा समर्थन रहेको विवेकशील साझा पार्टीले जनाएको थियो । किसानहरुले आफूहरुको बक्यौता रकम तत्काल दिइनु पर्ने तथा खेतीका लागि सरकारी तहबाट सहयोग हुनु पर्ने माग गरेका छन् ।
श्रीराम, अन्नपूर्ण र ईन्दिरा मिलले सबैभन्दा धेरै पैसा दिन बाँकी रहेको किसानहरूले बताउँदै आएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी श्रीराम चिनी उद्योगले ३२ करोड रूपैयाँ तिर्न बाँकी छ। त्यस्तै, अन्नपूर्णको १७ करोड, लुम्बिनीको ८ करोड ४१ लाख र इन्दिराको ४ करोड ७० लाख छ।
उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा उखु किसानले काठमाडौं माइतिघरमा आन्दोलन गरेका थिए। केही साताको आन्दोलन पछि मन्त्रालयले माघभित्र पैसा चुक्ता गर्न लगाउँछौं भनेपछि आन्दोलन रोकिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here