नेपाल–चीन सीमा विवाद : ५८ वर्षपछि भेटियो ११ नम्बर पिलर

0
100

सुर्खेत – चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि फेला परेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको हो । सीमास्तम्भ नाम्खा गाउँपालिका–६ टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । उनका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब ५२ सय मिटर उचाइमा भेटिएको छ ।
सीमास्तम्भ भेटिए पनि चीनले बनाएका भवन कसको भूभागमा पर्छ भन्ने अझै यकिन हुन नसकेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ बताउँछन् । टाकुले लेकको खोचमा हिउँसँगै दबेर रहेको ढुंगाजस्तो बस्तु देखेपछि सुरक्षाकर्मीले माटो र हिउँ पन्छाएर हेर्दा ११ नम्बर सीमास्तम्भ भएको पुष्टि हो ।
नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोली स्थलगत अध्ययन गर्न गएको थियो । लोलुङजोङमा चिनियाँ अधिकारीसँगको वार्ता सफल नभएपछि प्रजिअ गिरी नेतृत्वको टोली त्यहाँबाट हिल्सा गएको थियो ।
११ नम्बर सीमास्तम्भ हराएकाले नेपाल र चीनसँगको सिमाना पटक–पटक विवाद हुने गरेको थियो । सुरक्षाकर्मीको टोलीले त्यसको खोजीलाई अन्तिम लक्ष्य मान्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई सिमानामा दुई टोली बनाएर खटाएको थियो । सुरक्षाकर्मी र केही स्थानीयहरुको अथक प्रयासमा तीन दिनको खोजबिनले हराएको पिल्लर फेला परेको अध्यक्ष तामाङले बताए ।
प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्मीको टोली अझै सीमा क्षेत्रबाट फर्किएको छैन । चीनले नेपाली भूमिमा भवनहरु बनाएको समाचार सार्वजनिक भएलगत्तै नेपाल सरकार र काठमाडौंस्थित चिनियाँ दूतावास दुवैले चीनले नेपाली भूमि अतिक्रमण नगरेको प्रष्टीकरण दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here