अविरल बर्षा संगै आएको बाढी पहिरोमा परि तनहुँमा ६ जनाको मृत्यु, ५ जना बेपत्ता

0
271

तनहुँ – अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुले बताएको छ ।
प्रहरीले बताए अनुसार माँझफाँटका एकै घरपरिवारका ३ जनाको मृत्यु भएको र एक जना बेपत्ता छन् । यस्तै, म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको पनि मृत्यु भएको छ ।
त्यस्तै, व्यास–९ माझफाँटकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढीपहिरोका कारण जिल्लामा ५ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ । पहिरोमा परी मृत्यु भएका रिसिङका भेषबहादुरकी २९ वर्षीया श्रीमती नानुमाया, उनकी ५ वर्षीया छोरी अमिषा, भेषबहादुरका २२ वर्षीय भाइ महादेव, महादेवकी १९ वर्षीया श्रीमती मनिसरा थापा र व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा पनि बेपत्ता भएका छन् ।
यस्तै, पहिरोबाट घाइते भएका व्यास–९ माझफाँटका केशरबहादुर थापा र रिसिङ–८ की ६० वर्षीया ज्योति थापालाई थप उपचारका लागि पोखराको गण्डकी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । केशरको खुट्टामा र ज्योतिको दायाँ हातमा चोट लागेको र दुवैको अवस्था खतरामुक्त रहेका प्रहरीले जनाएको छ ।
पहिरोमा बेपत्ता भएकाको खोजीकार्य, घाइतेको उद्धार तथा अन्य क्षति विवरण संकलनमा सरोकारवाला निकाय तथा स्थानीयसँग समन्वय गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण ठाउँठाउँमा बत्तीका पोलहरु लड्दा बिहानदेखि विद्युत अवरुद्ध समेत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here