कोरोनाका कारण मृत घोषणा गरिएको एक महिना पछि बिरामी जीवित

0
40

काठमाडौं- कोरोनाभाइरसका कारण विश्वभर अहिलेसम्म २ लाखभन्दा धेरैको ज्यान गइसकेको छ । यो विश्वव्यापी महामारीका कारण संसारभरका देशहरु प्रभावित भएका छन् । दक्षिण अमेरिकी देश इक्वेडरमा भने एउटा अचम्मको हतना घटेको छ। कोरोनाभाइरसका कारण परिवारकी एक सदस्य गुमाएका परिवारको त्यतिबेला खुसीको सीमा रहेन जब उनीहरुले मृत्यु भएको भनिएकी परिवारकी सदस्य जीवितै रहेको थाहा पाए । ती महिलाको पहिचानमा भएको गल्तीका कारण यस्तो भएको बीबीसीले जनाएर्को छ ।
इक्वेडरकी ७४ वर्षकी महिला अल्बा मारुरीको परिवारलाई गत महिना अस्पतालले अल्बाको मृत्यु भएको जानकारी दिएको थियो । संक्रमणको जोखिमका कारण शवको अन्तिम संस्कार अस्पतालले नै गरेर परिवारलाई उनको भनिएको अस्तु पठाएको थियो । परिवारले त्यही अस्तुलाई अल्बाको अस्तु सम्झेर अन्तिम संस्कारको बाँकी विधि पूरा गरेका थिए । तर, वास्तवमा अल्बाको मृत्यु भने भएको थिएन बरु मृत्यु भएकी अर्कै महिलालाई अस्पतालले अल्बा ठानेको थियो ।
यता परिवारले अल्बाको मृत्युको शोक मनाइरहँदा अल्बा भने अस्पतालमा कोमाको अवस्थामा थिइन् । तीन हप्तासम्म कोमामा रहेपछि अल्बा गत बिहीबार ब्युँझिइन् र अस्पतालका कर्मचारीलाई आफ्नी बहिनीलाई बोलाइदिन भनिन् । अल्बाले आफ्नो परिचय दिएपछि अस्पतालले उनका परिवारलाई उनी जीवितै रहेको सूचना दियो । मृत्यु भएकी भनिएकी अल्बा जीवितै रहेको थाहा पाएपछि परिवारको खुसीको सीमा रहेन तर परिवारलाई अझै पनि घरमा भएको अस्तु कसको हो भन्ने थाहा भने हुन सकेको छैन । अस्पतालले पहिचानमा भएको गल्तीका लागि माफी समेत मागिसकेको छ ।
अल्बा गुआयाकिलमा बस्छिन् जुन शहर देशमा कोभिड १९ को इपिसेन्टर हो । इक्वेडर यो महामारीबाट नराम्रोसँग प्रभावित भएको छ । यहाँ २२ हजार भन्दा धेरै संक्रमित भइसकेका छन् र ६ सय भन्दा धेरैको ज्यान गइसकेको छ । स्थानीय अखबार एल कोमेर्सियोका अनुसार अल्बालाई गत महिना उच्च ज्वरो र सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उनका परिवारलाई २७ मार्चमा अल्बाको कोरोनाभाइरसका कारण मृत्यु भएको सूचना दिइएको थियो ।
परिवारलाई अस्पतालको मुर्दाघरमा एउटा शव देखाइएको थियो तर संक्रमण फैलिने आशंकाका कारण शवको नजिक जान दिइएको थिएन । अल्बाका भतिजा जेमे मोर्लाले आफूलाई यी आफ्नी काकी भएजस्तै लागेको बताएका थिए । ‘मलाई उहाँको अनुहार हेर्न डर लागेको थियो’ उनले समाचार एजेन्सी एएफपीसँग भने ‘म करिब डेढ मिटर टाढा थिएँ । उनको (शवको) उस्तै कपाल र उस्तै छालाको टोन थियो ।’ त्यसपछि शवलाई लगेर अन्तिम संस्कार गरियो र अस्तु परिवारलाई पठाइयो ।
तर, बिहीबार अल्बा होसमा आइन् र डाक्टरलाई आफ्नो परिचय दिइन् । उनले अस्पतालका कर्मचारीलाई आफ्नो घरको फोन नम्बर दिइन् र आफूलाई लिनको लागि बहिनी आउरालाई बोलाइदिन भनिन् । एल कोमेर्सियोको समाचार अनुसार अस्पतालको एक टिम माफी माग्नको लागि उनको घर गएको थियो । माफी माग्दै उनीहरुले परिवारलाई त्यो समय संक्रमित बिरामीको संख्या र लगातार मृत्युका कारण अस्पताल अस्तव्यस्त रहेको बताएका थिए ।
‘यो चमत्कार हो । करिब एक महिनासम्म हामीले उनको मृत्यु भइसकेको ठानेका थियौं । कल्पना गर्नुस्’ आउराले भनिन् ‘अनि मसँग अरु कसैको अस्तु थियो ।’ परिवारले यो घटनाको लागि अस्पताल प्रशासनले क्षतिपूर्ति दिनुपर्ने र अन्तिम संस्कारमा भएको खर्च परिपूर्ति गर्नुपर्ने बताएका छन् । अल्बाका लागि पनि नयाँ ओच्छ्यान किनिएको छ किनकि पुरानो ओच्छ्यान परिवारले फ्याँकिदिएका थिए ।

समाचार – डिसि नेपालको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here