४६ हजार नाघे कोरोना भाइरस संक्रमित नेपाली: स्वदेशमा भन्दा विदेशमा करिब दोब्बर

0
15

काठमाडौं – स्वास्थ्य मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । यीमध्ये केही भारतीय छन् । विदेशमा यो भन्दा करिब दोब्बर नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । १० जुलाइसम्म विदेशमा २९ हजार ६२४ नेपाली संक्रमित भएको गैरआवासीय नेपाली संघ ‘कोभिड–१९’ उच्चस्तरीय समितिले जनाएको छ ।
विदेशमा संक्रमित नेपालीमध्ये २७ हजार ३ सय ६२ जना नेपालीहरू संक्रमणमुक्त भइसकेका छन् । संक्रमणमुक्त हुनेको यो सङ्ख्या करिब ९२ प्रतिशत हुन्छ ।
गैरआवासीय नेपाली संघ अन्तरगतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अस्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशहरूमा रहेका नेपालीहरूमा गत साता कोरोना संक्रमण दर सामान्य रूपमा बृद्धि भएको छ ।
त्यस्तै, कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या नेपालमा भन्दा विदेशमा करिब चौबर छ । नेपालमा हालसम्म ३८ को मृत्यु भएकोमा विदेशमा शनिबारसम्मको तथ्यांकमा १४५ को ज्यान गएको छ ।
२६ हजार ३ सय ९६ जना नेपालीको उद्धार
नेपाल सरकार, कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिसकिएको पनि गैरअवासीय नेपाली संघले जनाएको छ । विभिन्न एयरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत् उनीहरुको उद्दार गरिएको हो ।
गत जेठको मध्यदेखि शुरू भएको उद्धार उडानमार्फत् हालसम्म संयुक्त अरब इमिरेट्स युएईबाट ५ हजार ५ सय २७ सय जनाको उद्धार गरिएको छ । त्यसैगरी कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी ५ हजार २ सय ४३, साउदी अरबबाट ४ हजार ३०, मलेसियाबाट ३ हजार ५३ र कतारबाट २ हजार ८ सय ८४ जनाको उद्धार गरिसकिएको संघअन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।
त्यसैगरी अफगानिस्तानबाट १८, अस्ट्रेलियाबाट ४ सय ८३, म्यानमारबाट २६, जापानबाट ४ सय ९२, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ४ सय ७६, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९, श्रीलंकाबाट ५, सिंगापुरबाट १ सय ४६, हङकङबाट ८९, बहराइनबाट ५ सय ६७, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७ र चीनबाट १ सय ५ जना नेपालीलाई स्वदेश फर्काइएको छ ।
यसै अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ६ जनामध्ये १ सय ४६ जनाको परिवारको सहमतिमा देशमा अन्त्येष्टि गरिएको छ ।
त्यसैगरी विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी रहेको तथ्याङ्क पनि गैरआवासीय नेपाली संघले सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here