२० वर्ष पुगेर विवाह गर्नेलाई ग्याँस सिलिन्डर उपहार

0
8

बाँके- बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय गरेको छ । मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं ५ ले यस्तो निर्णय गरेको हो । वडाध्यक्ष गरिवे शेषले बालविवाह रोकथाम गर्न यस्तो उपहारको योजना ल्याएको बताए । ‘हाम्रो वडामा बालविवाह अलि बढी नै छ । त्यसको रोकथामका लागि हामीले सिलिन्डर सेट उपहार योजना ल्याएका छौं’, वडाध्यक्ष शेषले भने– ‘यो योजनाले बालविवाह रोकथाममा सहयोग पु¥याउने आशा गरेका छौं ।’ वडाले माघ ३ गतेपछि २० वर्ष उमेर पुगेर विवाह गरेकालाई यस्तो उपहार दिने बताएको छ । उमेर पुगेर विवाह गरेकाले नागरिकता, विवाह हुने प्रमाण, उमेर खुल्ने प्रमाण (दुलाहा–दुलही दुवैको) पेस गर्नुपर्नेछ । यो उपहार योजना वडा नं ५ का स्थायी बासिन्दाका लागि मात्रै लागू गरिएको छ । बाँकेको मधेसी, मुस्लिम बस्तीमा बालविवाह बढी हुने गरेको छ । विवाहको उमेर २० वर्ष भए पनि परम्पराका नाममा पहिले नै विवाह गरेको पाइन्छ । बालविवाहमा न्यूनीकरण भइरहे पनि अझै रोकथाम हुन सकेको छैन । वडाध्यक्ष शेषले आफ्नो वडामा बालविवाह अन्यत्रभन्दा बढी नै रहेको जानकारी दिए। मधेसी समुदायमा विवाह, गौना, थौना, आला, चाला गरेपछि मात्रै दुलहीलाई घरमा राखिन्छ । विवाह भए पनि यी सबै प्रक्रिया पु¥याउन समय लाग्छ । सानैमा विवाह गर्ने र अरु प्रक्रिया २० वर्षसम्ममा पु¥याउने गरेको पनि पाइएको छ । कतिपयले भारतमा रहेका आफन्तीको घरबाट नै बालविवाह गरेको पाइन्छ । मधेसी समुदायका केही व्यक्तिले बाँकेमै १६ वर्षमा विवाह गर्न पाउनुपर्छ भन्दै केही अगाडि निरन्तर आन्दोलन गरेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here