हिमाली भेगमा हिमपातसंगै देशै भर ह्वात्तै बढ्यो चिसो

0
20

काठमाडौं – बुधबार रातिबाट विकास भएको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा हिमपात भएको छ भने अन्य स्थानमा चिसो बढेको छ ।
बुधबार साँझ नेपालको पश्चिम भूभागबाट न्यून चापीय प्रणालीको प्रवेश भएसँगै हिमाली भागमा हिमपात तथा अन्य स्थानको तापक्रममा गिरावट आएको हो ।
हुम्लासहित कर्णालीका उच्च हिमाली भागमा बिहीबार बिहान ६ बजेदेखि हिमपात भइरहेको छ । हिमपातले जनजीवन प्रभावित छ भने हवाई सेवा समेत अवरुद्ध भएको छ ।
मौसममा आएको बदलीले तराईको जनजीवन पनि प्रभावित भएको छ । तराई क्षेत्रमा पनि कतिपय स्थानको हवाई सेवा प्रभावित भएको छ । यद्यपि, काठमाडौंको भिजिबिलिटी ४ हजार मिटर रहेकाले हवाई सेवा सञ्चालन भइरहेको छ । भिजिबिलिटी ३ हजार मिटरभन्दा कम भएमा उडान गर्न नहुने अन्तर्राष्ट्रिय उड्डयन नियम रहेको छ ।
मौसममा विकास भएको नयाँ प्रणाली शनिबारसम्म जारी रहने मौसमविदको प्रक्षेपण छ । योबीचमा देशका अधिकांश भूभागको तापक्रममा गिरावट आई चिसोसमेत बढ्ने मौसम पूर्वानुमान विभागका मौसमविदहरुले बताएका छन् ।
काठमाडौं उपत्यकाको तापक्रम बिहीबार बिहान ९ः४५ बजे ७.७ डिग्री मापन भएको छ । यो वर्षकै सबैभन्दा चिसो दिन भने होइन । यस वर्ष काठमाडौंको तापक्रम ५ डिग्रीमा झरिसकेको छ ।
देशका पश्चिम भेगका धेरै र पूर्वी भागका केही स्थानमा शनिबारसम्मै हल्का वर्षाको सम्भावना पनि विभागले औंल्याएको छ । मौसम विभागका अनुसार, शनिबारपछि भने मौसममा सुधार आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here