सीसीएमसीले दियो विभिन्न सर्तसहित कक्षा १२ को वार्षीक परीक्षा सञ्चालन गर्ने अनुमति

0
20

काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विभिन्न सर्तसहित कक्षा १२ को वार्षीक परीक्षा सञ्चालनको अनुमति दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असार तेस्रो साता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग कक्षा १२ को वार्षीक परीक्षा सञ्चालनको अनुमति मागेको थियो । त्यसपछि मन्त्रालयले बोर्डको उक्त प्रस्तावलाई सीसीएमसी समक्ष पेश गरेको थियो । मन्त्रालयले गरेको पेशका आधारमा सीसीएमसीले विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको हो । परीक्षा केन्द्रमा परीक्षार्थीलाई जेड आकारमा कम्तिमा दुई मिटरको दूरी बनाएर राख्नु पर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्नेलगायत विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले बताए । परीक्षा सञ्चाालनको अनुमति पाएको बोर्डले भने यही महीनाभित्र परीक्षा सञ्चालनको तयारी गरिरहेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाइसकेको र परीक्षा सञ्चालनको विषयमा बोर्डले चाँडै निर्णय गर्ने बताए । उनका अनुसार बोर्डले कक्षा १२ को परीक्षा यही महीनाभित्र सञ्चालन गर्ने गरी तयारी गरिरहेको छ । यसअघि गत जेठ महीना तय भएको कक्षा १२ को वार्षीक परीक्षा कोरोना महामारीको दोस्रो लहरबाट उत्पन्न परिस्थितिले स्थगित भएको थियो । अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको बोर्डले यस वर्ष भने १०० पूर्णाङ्कको नै परीक्षा लिने तयारी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here