साबिककै शुल्कमा अब छयसट्ठी पानाको राहदानी

0
4

काठमाडौं- ६६ पानाको राहदानी लिने सेवाग्राहीको अभाव भएपछि ३४ पानासरहकै शुल्कमा वितरण थालिएको छ। राहदानी विभागले विद्युतीय राहदानी अन्तर्गत ३४ पानाको साधारण राहदानीकै शुल्कमा ६६ पानाको राहदानी वितरण गर्न थालेको हो।

वितरण थालिएको एक वर्ष बिते पनि ६६ पानाको राहदानीको माग अत्यन्त न्यून भएकाले साधारण राहदानीसरह वितरण गर्नु परेको विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले बताए।

यो राहदानी सन् २०२२ मे २२ तारिखदेखि वितरण सुरु भएको थियो। सो ६६ पानाको राहदानी जिल्लाबाट लिँदा १० हजार रुपैयाँ र अनलाइन फाराम भरेर विभागबाट लिँदा २० हजार रुपियाँ दस्तुर तोकिएको थियो। साधारण प्रक्रियाबाट ३४ पानाको साधारण राहदानी पाँच हजार रुपियाँमा वितरण हुँदै आएकोमा अब सोही दस्तुरमा ६६ पानाको राहदानी पाइने भएको छ।

महानिर्देशक यादवले भने, “एक वर्षमा जम्मा पाँच हजार थान मात्र ६६ पानाको राहदानी वितरण भयो। त्यसै राख्नुभन्दा वितरण गरेर स्टक सक्ने योजना हो।” खर्च बढी भए अनुसार माग नहुँदा ६६ पानाको राहदानी खेर जाने अवस्थामा पुगेको थियो। उनका अनुसार जिल्लाबाट लिँदा पाँच हजार रुपियाँ र विभागबाट लिँदा १२ हजार रुपैयाँमा ६६ पानाको राहदानी पाइने छ।

विभागले ६६ पानाको राहदानी एकै पटक चार लाख थान छपाइ गरेको थियो। विदेशी कम्पनीले गर्ने छपाइको मूल्य प्रतिराहदानी १०.९५ अमेरिकी डलर परेको छ। महँगोमा छपाइ गरिएकाले वितरण गर्दाको मूल्य पनि ३४ पानाको तुलनामा झन्डै दोब्बर कायम गरिएको थियो।

जसका कारण सेवाग्राहीले पाना सकिएको खण्डमा बरु नवीकरण गरेर ३४ पानाकै लिने तर सुरुवातमै ६६ पानाको राहदानी लिन नखोज्ने गरेका कारण ती राहदानी विभागको गोदाममै थन्किएका हुन्। साधारण राहदानीको तुलनामा झन्डै दोब्बर पाना भए पनि त्यसको उपयोगिता सबै सेवाग्राहीलाई नहुने देखिएकाले ६६ पानाको राहदानी छपाइ बन्द गरिने भएको छ। गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here