साउदीबाट चार नेपाली महिलाको उद्धार

0
6

काठमाडौं- साउदीमा रहेको नेपाली दूतावासले कुवेत कम्पनीमा काम गर्ने प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पुर्‍याइएका चार नेपाली महिलाको उद्धार गरेर स्वदेश पठाएको छ। दूतावासले साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुव्र्यवहारमा परेका महिलालाई उद्धार गरी तीन महिना दूतावासको अल्पकालीन आवासमा राखेर बुधबार स्वदेश पठाइएको हो।

दूतावासका अनुसार कम्पनीको काम लगाउने भनेर सरकारसँग श्रम स्वीकृति नै नलिई उनीहरूलाई भारत हुँदै कुवेत पुर्‍याइएको थियो। कुवेतमा केही महिना काम गरेपछि कुवेतका स्थानीय एजेन्टले उहाँहरूलाई साउदी अरब पुर्‍याएर सात महिनासम्म बिनातलब घरमा काम लगाएको सूचनाका आधारमा दूतावासले साउदी प्रहरीको सहयोग लिएर उद्धार गरी अल्पकालीन आवासमा राखेको थियो।

दूतावासका अनुसार साउदीमा उनीहरूलाई झन्डै सात महिनासम्म घरमालिकले बिनातलब काम लगाएको र बिरामी हुँदासम्म उपचार नगराउने, तलब माग्दा कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको छ।

तीन महिनासम्म चारै जनालाई दूतावासले खाने बस्ने सुविधासहित आवासीय सेवा दिइएको थियो। यसबिचमा दूतावासले साउदीको घरेलु श्रमिक कार्यालयसँग समन्वय गरी उनीहरूको स्वदेश फिर्तीका लागि कानुनी प्रक्रिया मिलाएर बहिर्गमन भिसा लगाएको थियो।

बहिर्गमन भिसामा उनीहरूलाई हिमालय एयरलाइन्समार्फत दूतावासले बुधबार नेपाल फर्काएको छ। उनीहरूको टिकटको व्यवस्था भने साउदीमा रहेको प्रवासी नेपाली मञ्चले गरेको दूतावासले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here