सहमतिको प्रयत्न गर्ने भन्दै नेकपा स्थायी कमिटी बैठक बुधवारसम्मलाई स्थगित

0
96

काठमाडौं – प्रधानमन्त्री एबम नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै छलफलपछि अर्का अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको प्रयत्न गर्ने भन्दै बुधवारसम्मलाई स्थगित गरिएको छ ।
यसबीचमा दुईपटक अन्य सहयोगी नेताहरुसहित वार्ता गरेका ओली र प्रचण्ड सोमवार भने एक्लाएक्लै संवादमा थिए । दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने खुलेको छैन । तर प्रचण्ड प्रफुल्ल मुद्रामा बाहिरिएको बालुवाटार स्रोतको दावी छ ।
यसअघि दुवै वार्तामा ओलीले आफू प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान दोहोर्याएका थिए भने प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने अडान नै राखेका थिए । दुई अध्यक्षबीच समझदारी नभई स्थायी कमिटी बैठक नराख्न मध्यमार्गी नेताहरुले पनि दबाव दिइरहेका छन् ।
पार्टी फुट्न नदिन सक्रिय एक नेताले भने– अहिले स्थायी कमिटीमा छलफल गराएर बहुमतका आधारमा कुनै निर्णय गर्न खोजियो भने त्यही विन्दुबाट पार्टी फुट्छ । त्यसैले दुई अध्यक्षबीच नै मुख्य समझदारी होस् भनेर हामीले पनि आग्रह गरिरहेका छौं । उहाँहरुले जे सहमति गर्नहुन्छ त्यो पार्टी बैठकमा ल्याउनुभयो भने छलफल सहज हुन्छ ।
अहिले पार्टी निर्णय मान्ने कि नमान्ने भन्ने तहको बहस भइरहेको भन्दै ती नेताले बैठकले ओलीको सहमतिबिना निर्णय गर्नासाथ उनले नमान्ने र पार्टी बिभाजनको बिजारोपण हुने बताए । पार्टी फुट्नेमात्र होइन संविधान नै संकटमा पर्ने भएकाले जे निर्णय भए पनि यसपटक सहमतिकै आधारमा हुनुपर्ने जोड ती नेताहरुको छ ।

पछिल्लो समय घनश्याम भुसालको संयोजनमा दोस्रो तहका प्रभावशाली नेताहरु पार्टी बिभाजन रोक्न सक्रिय भएका छन् भने दुई अध्यक्षबीच समझदारी कायम गर्न शंकर पोखरेल र वर्षमान पुन गृहकार्यमा छन् । महासचिव विष्णु पौडेलले मुख्य नेताहरुसँग सघन संवाद गरिरहेका छन् ।

स्थायी कमिटी बैठकले समाधान नदिने भएकाले केन्द्रीय कमिटी बैठक बोलाउन पनि हस्ताक्षर अभियान चलिरहेको छ । तर नेताहरु भने दुई अध्यक्ष र माधव नेपालसहित समझदारी कायम नभई पार्टीका बैठकहरु राख्दा त्यसले समस्याको निकासभन्दा पनि बिभाजनतर्फ धकेल्ने भएकाले समझदारीमै जोड दिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here