सहकारी सञ्चालक ९ करोड हिनामिना गरेर फरार : बचतकर्ता आन्दोलनमा सास्ती खेप्दै

0
39

काठमाण्डौ- विराटनगर : विराटनगर सरोचियाका मनिष सहनी चिया नास्ता पसल सञ्चालन गर्छन् । त्यसैबाट कमाएको साढे तीन लाख रुपैयाँ विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरे ।अझै धेरै कमाउने भनेर सेक्युरिटी गार्डको रुपमा काम गर्नका लागि युएई जाने प्रक्रिया थाले ।

भिसा लागेपछि म्यानपावर कम्पनीले पैसा माग्यो । उनी सहकारीमा जम्मा गरेको पैसा फिर्ता लिन गए, तर सहकारीले दिएन । सहकारी सञ्चालक नै भागेपछि उनी विदेश पनि जान पाएनन् ।साइकल मर्मत पसल सञ्चालन गर्दै आएका राजकुमार भगतले सहकारीमा दुई लाख ५० हजार रुपैयाँ जम्मा गरेका छन् ।

छाक खटाएर जम्मा गरेको रकम फिर्ता नदिई सञ्चालक भागेपछि उनी के गर्ने भन्ने तनाबमा छन् । उनी जस्तै विराटनगर- ७ का अनिल ठाकुरले पनि पसलको सामान बिक्रीबाट आएको साढे तीन लाख रुपैयाँ सहकारीमा जम्मा गरेका थिए । सबै कारोबार सहकारीबाटै गर्दै आएका उनी सञ्चालक भागेपछि पैसा कसरी फिर्ता ल्याउने भन्ने तनाबमा छन् ।

उनीहरुजस्ता विराटनगरका पाँच सय बचतकर्ताको रकम माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाले फिर्ता गरेको छैन । विराटनगरमा मात्रै होइन्, सहकारीले सुन्दरहरैचा नगरपालिकाको विराटचौकमा पनि सेवा केन्द्र सञ्चालन गरेको थियो ।

सुन्दरहरैचाबाट ५२ जना बचतकर्ताको ६० लाखभन्दा बढी रकम सहकारीमा डुबेको छ । ‘हामीले कलेक्टर छिमेकी भएका कारण बचत गर्यौं तर सेवा केन्द्र नै गैरकानुनी रहेछ,’ विराटचोकका भोजराज पोखरेलले भने, ‘अहिले सहकारीको बचत संकलक पनि भागेका छन् ।’

प्रहरीले लिएन उजुरी, छानबिन जारी । मंगलबार सहकारीबाट पीडित भएकाहरुले पत्रकार सम्मेलन गर्दै आफ्नो रकम फिर्ता गर्ने वातावरण बनाइदिन आग्रह गरे । सहकारी बचत फिर्ता नदिएपछि पीडित प्रहरी कार्यालय पुगे पनि प्रहरीले उजुरी नलिएपछि त्यसै फर्किएको बचतकर्ताको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले सहकारीको रकम हिनामिनाका विषयमा प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गरिरहेका कारण उजुरी नलिएको बताए । सहकारीको बचत फिर्ता गराउने विषयमा पटक-पटक छलफल भएको बताउँदै उनले छानबिन प्रतिवेदन आएपछि।

उजुरी लिएर कारवाही प्रक्रिया अघि बढाउने बताए । ‘सहकारीको हिनामिना प्रकरणको छानबिन भइरहेको छ, छानबिन प्रतिवेदन आएपछि बचतकर्ताको उजुरीलाई प्रहरीले लिन्छ,’ उनले भने, ‘सहकारीको बचत फिर्ता गराउन पटक-पटक छलफल भएको थियो, तर सञ्चालकले फिर्ता नगरेपछि प्रदेश रजिष्ट्रार कार्यालयले छानबिन गरिरहेको छ ।’

रजिष्ट्रार कार्यालयले यसअघि पनि छानबिन समिति गठन गरेको थियो । सहकारीको कार्यालय बन्द गरेर सञ्चालक सम्पर्क विहीन भएपछि कार्यालयले जिल्ला सहकारी संघ मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

पदाधिकारीबाट ९ करोड भन्दा बढी रकम हिनामिना : समितिले अध्यक्ष अमलेश कर्णसहित चार जना सञ्चालकले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको निष्कर्षसहितको प्रतिवेदन कार्यालयलाई बुझाएको थियो ।

हिनामिना भएको रकमको आधा रकम सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले तिर्नुपर्ने देखिएको थियो । कार्कीले मात्रै ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ खर्च हिनामिना गरेको छानबिनका क्रममा देखिएको थियो । समितिले कार्कीबाट सोही बराबरको रकम संकलन गर्न सुझाव दिएको थियो ।

कार्कीले दुई वटा बैंकबाट ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको छानबिन समितिले जनाएको छ । सहकारीका पूर्वसचिव तथा सञ्चालक प्रभाकर थापाले एक करोड ६० लाख ३३ हजार ४०२ रुपैयाँ हिनामिना गरेको देखिएको थियो ।

सहकारीका अध्यक्ष अमलेश कर्णले एक करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ गोलमाल गरेको प्रतिवेदनमा छ । सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ हिनामिना गरेको देखिएको थियो ।

गत साउनमा गठित छानबिन समितिले सहकारीले लगानी गरेको ऋण असुल भएको अवस्थामा असुल भए बराबरको रकमको दायित्वबाट मुक्त गर्न सकिने र अपुग र नोक्सानी भएको रकम सञ्चालकले व्योहोर्न सुझाव दिएको थियो । तर प्रभाकर थापा र अमित कार्कीले छानबिन समितिको प्रतिवेदन नमान्ने बताएपछि प्रदेश कार्यालयले छुट्टै छानबिन समिति बनाएको थियो ।

सहकारीले बचतकर्ताबाट उठाएको मध्ये एक करोड ५१ लाख १० हजार २३८ रुपैयाँ ऋण लगानी गरेको छ । सर्वसाधारणबाट संकलन भएको ९ करोड २५ लाख ९१ हजार रुपैयाँ मध्ये ६ करोड २८ लाख ६३ हजार ८२५ रुपैयाँको अपारदर्शी रुपमा खर्च गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here