सरकारको प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई

0
18

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री नियुक्त नभएसम्मका लागि प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्री ज्ञवालीलाई मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने जिम्मेवारी तोकिएको हो ।
अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले राजीनामा दिएपछिका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिएका थिएनन् । खतिवडाले सम्हाल्दै आएका मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हालिरहेका छन् ।
तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि उक्त मन्त्रालय र प्रवक्ताको जिम्मेवारी खतिवडालाई दिइएको थियो ।
प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘हिजोभन्दा अघिका मन्त्रिपरिषद् बैठकले गरेका निर्णय पनि सार्वजनिक नभएको अवस्थामा प्रधानमन्त्रीले ती निर्णय सार्वजनिक गर्ने जिम्मेवारी दिनुभएको हो ।’
मन्त्री ज्ञवालीले सूचना तथा सञ्चार प्रविधिमन्त्री नियुक्त नहुन्जेलसम्मकालागि प्रवक्ताको जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । हाल उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हालिरहेका छन् । सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने गरेकोले नयाँ मन्त्री नियुक्त नहुँदासम्म उक्त जिम्मेवारी परराष्ट्रमन्त्रीलाई दिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here