संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न नेपाली कांग्रेसले गर्यो राष्ट्रपति भण्डारीलाई आग्रह

0
108

काठमाडौं – संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका हुन् । विज्ञप्तिमा शर्माले, ‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपिल गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरू, सबै राजनीतिक दल, संघ-संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपिल गर्दछ ।’ भनेका छन्
चुनावको बेला स्थिरताको चर्को नारा दिएको स्मरण गराउँदै शर्माले अगाडि भनेका छन्, ‘आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ ।’ शर्माले जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द्व आफैँमा लज्जास्पद रहेको भनेका छन् । उनले विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा पार्टीले लिएको बताउँदै त्यसलाई असफल तुल्याइने पनि भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here