‘संसदमा प्रकाशचन्द्र लोहनीको उपस्थिति र अभिव्यक्तिले राप्रपालाई फाइदा हुँदैन भनेर अरुलाई बनाइयो होला’

0
4

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले संसदमा आफ्नो उपयोगिता नदेखेर समानुपातिक सांसद नबनाएको टिप्पणी गरेका छन् । ‘पार्टीले समानुपातिक सांसदको निर्णय गरेको बिहान मात्र सुनें । म त्यसबारे त्यति चिन्तित पनि थिइनँ । रातभरि मजाले सुतेर उठेको हुँ । यसबारे मैले केही विचार गरेको छैन । अहिलेको अवस्थामा विधायिकामा प्रकाशचन्द्र लोहनीको उपस्थिति र अभिव्यक्तिले राप्रपाको हित र फाइदा हुँदैन, अरु नै पठाउँदा उपयुक्त हुन्छ भन्ने लागेर निर्णय गर्नुुभयो होला । अहिलेको अवस्थामा संसदमा लोहनीको उपयोगिता छैन भन्ने लाग्यो होला । मैले त्यही सम्झेको छु । जो जो बन्नुभएको छ, सबै साथीहरुलाई मेरो बधाई छ । व्यक्तिगत रुपमा सबैप्रति मेरो सम्मान छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लोहनीले भने ।
राप्रपालाई आफ्नो उद्देश्यअनुरुप अघि बढ्नुपर्नेमा कुनै दुबिधा नभएको पनि लोहनीले स्पष्ट पारे । उनले भने, ‘पार्टीको भविष्य के होला, त्यो त घटनाक्रम देखाउला । तर राप्रपालाई राम्ररी अघि लैजानुपर्छ । यो निकै संघर्षबाट खडा भएको पार्टी हो ।’ ५० सिट ल्याउँछ भनेको पार्टी किन खुिम्चयो, त्यसको निर्मम समीक्षा गर्नैपर्ने पनि उनले औंल्याए ।
तत्काल राप्रपा सरकारमा जानुको औचित्य नभएको पनि उनले बताए । लोहनीले थपे, ‘कसको सरकार बन्ने भन्ने टुंगो लागेको छैन । राप्रपा सरकारमा जानुको औचित्य देखेको छैन । राप्रपाको महाधिवेशनमा म आफैं उठ्न लागेको थिएँ, तपाईंको अभिभावकत्वमा पार्टी चलाउँछु भनेपछि मैले महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई पूर्ण सहयोग गरेको हुँ । राजनीतिमा पुस्तान्तरण गर्नुपर्छ भन्ने मेरो सिद्धान्त हो ।’
पुरानो नेतृत्वबाट देशमा केही हुनेवाला नरहेको पनि लोहनीले बताए । उनले भने, ‘शेरबहादुर देउवालाई शुभकामना छ । तर देउवा, ओली र प्रचण्डबाट केही परिवर्तन हुने वाला छैन । अब युवालाई काम गर्ने मौका दिनुपर्छ । भूल गर्लान्, राम्रो गर्लान् । टेस्ट गर्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here