संविधान दिवसको अवसरमा विभिन्न मुलुकले व्यक्त गरे नेपाललाई शुभकामना

0
5

काठमाडौं – नेपालको संविधान दिवसको अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना सन्देश पठाउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । दुवै देशका जनताको हितमा हाम्रो सम्बन्ध अघि बढ्ने र त्यसले क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने विश्वास पनि राष्ट्रपति पुटिनले सन्देशमा उल्लेख गर्नुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उहाँले नेपाल र अमेरिकाबीचको सम्बन्ध सँधै बलियो रहने र दुईपक्षिय सहयोग सँधै कायम रहने उल्लेख गर्नुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई दिनुभएको छ । संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उहाँले सन्देशमा दुवै देशबीचको अनुपम एवं विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here