शुक्रबार बुबाको निधन आइतबार छोरीको कीर्तिमान

0
8

काठमाडौं- स्पेनलाई महिला विश्वकप फुटबल विजेता बनाउन एक मात्र निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाका बुबाले विश्वकप फाइनलको दुई दिनअघि मात्रै निधन भएको थियो । तर आइतबार विश्वकपको फाइनलमा इंग्ल्याण्डविरुद्ध टिमको नेतृत्व गरेर मैदान उत्रिएकी उनलाई त्यसको छनक थिएन । खेलको पहिलो हाफमा निर्णयक गोल गरेकी उनले विश्वकप जितेको खुसी मनाएपछि मात्रै आफ्ना पिताको निधनको समाचार सुनिन् । स्पेनिस मिडिया रेलिभोको अनुसार, उनका आमा र परिवारले विश्वकपमा गएकी ओल्गाको ध्यान नबिग्रियोस् भनेर उनलाई बुबाको मृत्युको खबर दिएका थिएनन् । शुक्रबार बुबाको निधन भए पनि उनका दाजु आमालाई लिएर विश्वकप फाइनलको दिन उनको हौसला बढाउन अष्ट्रेलिया पुगेका थिए । रोयट्र्सका अनुसार उनका बुवा लामो समयदेखि बिरामी थिए । २३ वर्षीय ओल्गाले बाबुको निधन भएकोथाहा पाएपछि सामाजिक सञ्जालमा लेखिन्, ‘मलाई थाहा छ तपाईंले मलाई हिजो बेलुका हेर्नुभयो । तपाईंलाई म माथि गर्व भयो होला, तपाईंको आत्माले शान्ति पाओस् बुबा ।’ उनले त्यसैमा थप्दै लेखिन्, ‘मलाई थाहा थिएन । खेल सुरु हुनअघि नै मेरो लागि एउटा चम्किलो ताराले मलाई केही विशेष पाउन शक्ति दिइरहेको थियो ।’ स्पेनिस फुटबल संघ (आरएफईएफ)ले पनि उनको बुवाको निधनमा सहानुभुति जनायो । ‘फुटबलमा एक खुसी थपिँदैगर्दा एक दुखद खबर पनि सुनियो, हामी ओल्गा र ओल्गाको परिवारप्रति हार्दिक सहानुभुति प्रकट गर्दछौं । ओल्गा तिमीलाई धेरै माया, तिमी स्पेनिस फुटबलको इतिहास हौं ।’ त्यस्तै उनको क्लब रियल मड्रिडले पनि उनलाई बुवाको मृत्युपश्चात समवेदना प्रकट गरेको छ । आफ्नो बुबाको मृत्युको बारेमा अनभिज्ञ उनले विश्वकप फाइनलमा गोल गरेपछि उनले आफ्नो माथिको जर्सी उचाली एक नाम देखाएकी थिइन् ‘मिर्ची’ । खेलसकेपछि उनले त्यो नाम एक जना आमा गुमाएकी साथीका लागि समवेदना भएको बताएकी थिइन् । जतिबेला उनले साथीलाई समवेदना दिएकी थिइन्, त्यतिबेला उनी आफैं पिता गुमाएको शोकमा थिइन् । (अनलाइन खबरबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here