शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द

0
17

तनहुँ – शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको एक विद्यालय बन्द गरिएको छ । बन्दीपुर गाउँपालिका-२ मा रहेको भानु माध्यमिक विद्यालयका दुई जना शिक्षक र सात जना विद्यार्थीलाई कोरोना पुष्टि भएपछि साता दिनका लागि विद्यालय बन्द गरिएको हो । ५४ जना शिक्षक र विद्यार्थीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा उक्त संख्यामा पोजेटिभ पुष्टि भएको हो । शुक्रबारदेखि ७ पुससम्म विद्यालय बन्द गर्न गाउँपालिकाले निर्देशन जारी गरेको छ । थप विद्यार्थीमा संक्रमण फैलन नदिनलाई शुक्रबारदेखि विद्यालय बन्द गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले बताए । संक्रमितको ट्राभल हिस्ट्री भेटिएको उनले बताए । ‘घान्द्रुक शैक्षिक भ्रमणमा गएर फर्किएका एक विद्यार्थीलाई लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टी भएको हो । उनको सम्पर्कमा रहेका शिक्षक र विद्यार्थीको परीक्षण हुँदा अन्य आठ जना थपिए’, उनले भने । संक्रमित आठ जनामा भने लक्षण नदेखिएको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शुक्रबारसम्म जिल्लामा ११ जना मात्र कोरोनाका सक्रिय संक्रमित छन् । जिल्लामा कोरोना संक्रमण घटेर सक्रिय संक्रमितको संख्या तीन जनामा झरेको थियो । यो साता फेरि संक्रमित बढेका छन् । दोस्रो लहरको कोरोना सुरू भएपछि वैशाख यता मात्र जिल्लामा पाँच हजार ३६२ जनालाई कोरोना पुष्टि भएको छ । पाँच हजार २२२ जना निको भएको तथ्याङ्क छ । १२९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जिल्लाका ६५ हजार ८३८ जनाले कोरोना विरुद्धको पुर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शंकरबाबु अधिकारीले बताए । उनका अनुसार २० हजार ३७८ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । – (नयाँ पुस्ता डट कमको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here