विराटनगरबाट मानव अङ्गसहित दुईजना पक्राउ

0
4

विराटनगर – नेपाल भारत सीमा क्षेत्र विराटनगरको रानीबाट प्रहरीले मानव खप्पर र हड्डी बरामद गरेको छ । सशस्त्र प्रहरीले भारतबाट नेपालतिर आइरहेको भ्यानबाट २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद गरेको हो । रातको समयमा भारतको जोगवनीबाट को २ च ९६४८ नम्बरको मारुती भ्यानबाट ती सामग्री बरामद भएको थियो । बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले सोमबार राति भ्यानबाट शंकास्पद वस्तु फेला पारेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ती वस्तु मानिसको खप्पर र हातखुट्टाको हड्डी रहेको प्रहरीले निश्कर्ष निकालेको छ । कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा भएको अनुमान गरेपनि वन्यजन्तु विज्ञ र चिकित्सकले मानव अङ्ग भएको बताएका थिए ।
भ्यानका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भ्यानमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले सामान काठमाडौंँ लैजाने तयारी रहेको बयान दिएका छन् । सोहि घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । ती वस्तु कता लैजान खोजिएको भन्ने नखुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु भरिया रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष छ । उनीहरुले काठमाडौंँसम्म लैजाने वयान दिएपनि के मा प्रयोग हुन्छ भन्ने खुलाएका छैनन् ।
मानव हड्डीको प्रयोग धामी–झाक्रीले बेला बेला प्रयोग गर्छन् । तर ठूलो परिणाम भेटिएकाले प्रहरीले चीततर्फ तस्करी गर्न खोजेको बताएको छ । प्रहरीका अनुसार विगतमा चीनतर्फ यस्ता सामग्री तस्करी भएको थियो । विस्तृत अनुसन्धान सकिएपछि थप विषय खुल्ने समेत प्रहरीले जनाएको छ । मान्छे मरेपछि आआफ्नो जातीय रीतिरिवाजअनुसार दाहसंस्कार गर्दा शवलाई जलाउने र जमिनमा गाड्ने गरिन्छ । शव गाडेको चिहान खोतलेर मानव खप्पर र हड्डी सङ्कलन गरेको हुनसक्ने प्रहरीले बताएको छ । यसरी संंकलन गरिएका सामग्री किन र केका लागि तस्करी हुन्छ भन्ने खुलेको छैन ।

                                          स्रोत : अनलाइन खबर 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here