वायु प्रदूषणको असरले हरेक वर्ष १० लाखको जीवन गर्भमै तुहिन्छ

0
2

काठमाडौं- वायु प्रदूषणको असरले विश्वमा हरेक वर्ष १० लाख जीवनले यो बाहिरी संसार देख्न नपाई आमाको गर्भमै निधन हुने गरेको पाइएको छ । नेचर जर्नलमा प्रकाशित अनुसन्धात्मक प्रतिवेदनअनुसार वायु प्रदूषणको प्रमुख कारणले गर्भमै शिशुको मृत्यु हुने गरेको र मृत शिशु जन्मने गरेको तथ्य भेटिएको उल्लेख छ । नेपालसहित विश्वका १ सय ३७ वटा देशमा गरिएको बृहत् अध्ययन प्रतिवेदनअनुुसार जन्मेका, जवान र पाका भइसकेका मानिसमा मात्रै नभई गर्भमा रहेका शिशुमा समेत वायु प्रदूषणको गम्भीर असर देखिएको जनाएको छ । अध्ययनअनुसार विश्वमा धेरै बालबालिका मृत जन्मनुमा वायु प्रदूषणलाई कारक मानिएको छ । वायुमण्डलमा रहने धुलाका मसिना कण २ दशमलव ५ पीएम र मृत शिशुसँगको सम्बन्ध रहेको भेटिएको प्रतिवेदनमा उल्लेख छ । वायुमण्डलमा हुने २ दशमलव ५ पीएम पेट्रोल, डिजेल, धुवाँ र धुलोमा रहने गर्छ । धुलोका मसिना कण शरीरमा प्रवेश गरेपछि फोक्सोलाई असर गर्नुका साथै मानिसको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गराइदिन्छ । विशेषगरी, बालबालिकालाई धुलोका कणले नराम्रोसँग असर गरिरहेको हुन्छ । आँखाले देख्न सकिने धुलोका कणलाई पीएम १० मा मापन गरिन्छ । पीएम २ दशमलव ५ मा आँखाले देख्न सकिनेभन्दा चारगुणा साना कण हुन्छन् । वातावरणविद्का अनुसार पीएम २ दशमलव ५ मा कम आकारका धुलोका कण, कार्बनमोनोअक्साइड र नाइट्रोेजनअक्साइड हुन्छ । यस्ता कण स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । यी कण श्वासप्रश्वासमार्फत शरीरभित्र सजिलै पस्ने हुनाले श्वासनलीमा संक्रमण हुने गर्छ । राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here