लेखा परीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिबाना

0
5

काठमाण्डाै- निर्वाचन आयोगले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने विभिन्न राजनीतिक दलहरूलाई जरिबानासहित कारबाही गर्ने भएको छ । आयोगले नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नेपाल सुशासन पार्टीलाई जरिबाना तोकेको हो ।
त्यस्तै आयाेगले समयमा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्न भन्दै नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलहरूलाई सचेत गराएको छ ।

साेमवारको बैठकले ३९ वटा दललाई जनही सात हजार रुपैयाँ जरिबाना गर्दै सात दिनभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेर पेस गर्न निर्देशन दिएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ । अहिलेसम्म ८२ वटा दलले खर्चको आय–व्यय निर्धारित समयभित्रै पेस गरेका छन् । त्यसैगरी, १२ वटा राजनीतिक दलले तोकिएको समयसीमाभन्दा ढिलो गरी लेखा परीक्षण प्रतिवेदन पेस गरेको आयोगले जनाएको छ।

आर्थिक वर्ष २०७७/७८ र २०७९/८० को लेखा परीक्षण पेस नगर्ने मुस्कान सेना नेपाल र शिव सेना नेपाललाई जनही १५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय भएकाे छ । त्यसैगरी दुई वटा आर्थिक वर्षमा लेखा परीक्षण पेस नगर्ने दललाई स्पष्टीकरण सोध्दा त्यसको जवाफ समयभित्र नदिने दललाई जनही २० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ।

यसैगरी, गएको वर्षको लेखा परीक्षण पेस नगर्ने १६ वटा राजनीतिक दललाई स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नदिने पार्टीलाई १० हजार रुपैयाँ जरिबाना गर्ने आयोगले जनाएको छ । आयोगले तोकेको जरिबानाबापतको रकम ३५ दिनभित्र दाखिला गर्न निर्देशन दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here