राष्ट्रिय सभा सदस्यमा मनोनित भए वामदेव गौतम

0
106

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो।
‘सिफारिसअनुसार राष्ट्रपतिज्यूले उहाँलाई मनोनित गर्नुभएको छ। अब उक्त सूचना संसद सचिवालयमा जान्छ,’ राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार गौतमको सिफारिस शितल निवास पठाएको थियो।
राष्ट्रपतिबाट मनोनित हुने १ सांसद कोटा गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको छ। १४ फागनमा बसेको सचिवालय बैठकले गौतमको नाम पठाउन सुझाव दिएपनि प्रधानमन्त्री केपी ओलीले उनको नाम सिफारिस गरेका थिएनन्।
प्रधानमन्त्री ओलीले निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउन चाहेका थिए। त्यसैले त ओलीले सांसद नरहेपनि खतिवडालाई ६ महिनासम्म मन्त्री बनाए। तर कसैको पनि नाम सिफारिस गरेनन्। २० भदौमा खतिवडाको ६ महिने कार्यकाल सकिएपछि उक्त संसद कोटा खाली थियो । १८ भदौमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली आफैंले गौतमको नाम सिफारिस गर्ने जानकारी गराएका थिए। गौतम २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here