मोबाइल इन्टरनेट स्पीडमा भारत भन्दा अगाडि नेपाल

0
46

एजेन्सी- मोबाइल इन्टरनेट डाटाको स्पीड मापन गर्ने कम्पनी ऊक्लाले विश्वका अधिकांश देशको मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक अध्ययन गरेर ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक सूचीमा भारत १३१औं स्थानमा रहेको छ ।
यो सूचीको शीर्ष स्थानमा दक्षिण कोरिया रहेको छ ।
१४५ देश सामेल उक्त रिपोर्टको शीर्ष स्थानमा रहेको दक्षिण कोरियाको औसत इन्टरनेट स्पीड १११ एमबीपीएस छ । यस्तै रिपोर्टअनुसार भारतको औसत इन्टरनेट स्पीड १०.६५ एमबीपीएस मात्रै छ । सूचीमा भारत अन्य दक्षिण एशियाली मुलुकहरु नेपाल, पाकिस्तान र श्रीलंकाभन्दा पनि पछि परेको छ ।
दक्षिण एशियाली देशमध्ये सबैभन्दा तीव्र गतिको इन्टरनेट रहेको श्रीलंकाको औसत इन्टरनेट स्पीड २२.०४ एमबीपीएस छ भने पाकिस्तानको १३.०८ एमबीपीएस रहेको छ ।
श्रीलंका सूचीको ८३औं स्थानमा छ भने पाकिस्तान ११८ औं स्थानमा छ । यस्तै नेपाल पनि भारतभन्दा अगाडि रहेको छ । १०.७८ एमबीपीएस रहेको नेपाल सूचीको १३० औं स्थानमा रहेको छ ।
यसैगरी विश्व महाशक्ति राष्ट्र अमेरिका भने यस रिपोर्टको शीर्ष दशमा सामेल हुन सकेन । अमेरिकामा इन्टरनेटको औसत स्पीड ३६.२३ एमबीपीएस छ । उक्त स्पीडमा अमेरिका सूचीको ३५औं स्थानमा रहेको छ ।
शीर्ष स्थानमा रहेको दक्षिण कोरियापछि दोस्रो स्थानमा अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियामा इन्टरनेटको औसत स्पीड ६६.४५ एमबीपीएस रहेको छ ।
त्यस्तै सो सूचीको तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः कतार, नर्वे र यूएई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here