मिर्गौलाको पथ्थरी किन हुन्छ ? हेर्नुहोस उपचार गर्ने तरिका

0
11

मिर्गौलाको पथ्थरीका लक्षण के के हुन्छन् ?

पेटको कोखा वरपर दुख्ने, रिंगटा लाग्ने, बान्ता आउने, पिसाबमा रगत आउने, पिसाब पोल्ने, पिसाब कम आउने पत्थरीका लक्षण हुन् । दुवै मिर्गौलामा पत्थरी भएमा पिसाब नै बन्द हुने समस्या समेत आउन सक्छ । संक्रमणबाट बन्ने पत्थरी (पिसाबको नली भरिने पत्थरी भएका केही व्यक्तिमा संकेत नै नदेखाई मिर्गौला खराब नै बनाउन सक्छ ।

मिर्गौलाको कुन भागमा हुन्छ ?

पत्थरी मिर्गौलाको तीन भाग पिसाब थैली, मूत्रनली र पेल्भिकलिसीलमा हुने गर्छ । यसको आकार कुनै सानो र कुनै ठूलो हुन्छ । ६ एमएमभन्दा सानो छ भने आफैं निस्किएर जान्छ । ६ एमएमभन्दा माथि एक सेमीसम्म पनि निस्किएर जान सक्छ तर सम्भावना न्यून हुन्छ । एक सेमीभन्दा माथि भएको पत्थरीलाई शल्यक्रिया नै गर्नुपर्छ ।लक्षणको आधारमा अल्ट्रासाउण्ड गरेर यसको पहिचान गर्न सकिन्छ । अल्ट्रासाउण्ड गर्दा मिर्गौला सुन्निएको देखिएमा पत्थरी नदेखिन पनि सक्छ । प्रायः मिर्गौलाको तल्लो भागमा भएको पत्थरी देखिंदैन, जसकारण सिटीस्क्यान गरेर पहिचान गर्न सकिन्छ ।
कतिपयले बियर खाँदा पत्थरी जान्छ भनेको सुनिन्छ । युरिक एसिडले पत्थरी बनिरहेको छ भने बियरजस्ता मदिराले झनै बढाउँछ । बियर खाएपछि पटकपटक पिसाब लाग्छ भन्ने हिसाबले पत्थरी जान्छ भनेर पिउनु भ्रम हो । मदिरापानले झनै स्वास्थ्य अवस्था बिगार्न सक्छ ।

खानपान

पालुंगोको साग, चकलेट, सफ्ट ड्रिंक, लौकाको जुस, घ्युकुमारीको जुसमा अक्सलेटको मात्रा बढी हुने भएकाले अत्यधिक सेवन गर्दा जोखिम बढ्छ । पत्थरी भएकाले त अक्सलेटको मात्रा बढी हुने खानेकुरा सेवन गर्ने हुँदैन । त्यस्तै, युरिक एसिड भएका व्यक्तिमा माछामासु र गेडागुडी बढी खाँदा पत्थरी गराउने सम्भावना हुन्छ ।

उपचार विधि

मिर्गौलामा पत्थरी हुने धेरै कारण भएसँगै उपचारको पद्धति पनि फरक-फरक हुन्छन् । ६ एमएमभन्दा आकार सानो भएको पत्थरी छ भने २४ घण्टाको पिसाबको जाँच गरेर औषधि उपचार गर्दा ठीक हुन्छ । जबसम्म पत्थरी निस्किंदैन, तबसम्म त्यसलाई निकाल्ने औषधि खानुपर्छ ।मिर्गौलाको दुवैतर्फ पत्थरी भएमा वंशाणुगत हो वा पिसाबमा हुने तत्वको असन्तुलनले हो भन्ने निक्र्यौल गरिन्छ । पिसाबको तत्वहरु सन्तुलनमा छैनन् भने औषधिले सन्तुलनमा ल्याउन सकिन्छ । ६ एमएमभन्दा ठूलो आकारको हुनुका साथै त्यसले अवरोध गरीरहेको छ भने शल्यक्रिया गरेर निकाल्नुपर्छ । पहिला चिरफारबाट मात्र शल्यक्रिया हुन्थ्यो भने अहिले नेपालमा विना चिरफार टेलिस्कोप र भाइब्रेसन विधिबाट पनि पत्थरी निकाल्न सकिन्छ । विना चिरफार गरिने आधुनिक प्रविधिको उपचारको नेपालमा सहज उपलब्धता छ ।त्यस्तै, शरीरमा कुनै औषधि दिन नमिल्ने शरीरमा पहिला नै अन्य रोग छ भने अन्य सामान्य व्यक्तिको तुलनामा पत्थरी बल्झिने सम्भावना बढी हुन्छ । पत्थरी भएकाले वर्षको एकपटक अल्ट्रासाउण्ड गरेर बल्झिएको छ वा छैन भनेर हेर्नुपर्छ ।

समयमा पत्थरीको उपचार नभएको खण्डमा मिर्गौलामा समस्या देखिन सक्छ । जस्तै, एउटा मात्र मिर्गौलामा पत्थरी छ भने त्यसमा खराबी आउँछ भने दुवैमा पत्थरीको समस्या छ र पिसाब पनि रोकिएको छ भने दुवै मिर्गौला फेल हुन सक्छ । जसकारण बिरामीलाई डायलाइसिस समेत गर्नुपर्ने हुन सक्छ ।

पत्थरी हुनै नदिन के गर्ने ?

पिसाबलाई सन्तुलनमा राख्न पानीको मात्रा बढाउने, दिनको कम्तीमा पनि साढे दुई लिटर पानी खाने, खानपानमा अक्सलेट भएका खानेकुरा कम खाने गर्नुपर्छ । युरिक एसिड भएकाहरुमा माछामासु र गेडागुडी बढी खाँदा पत्थरी गराउने सम्भावना हुन्छ । चिकित्सकको सल्लाहबिना भिटामिन डी सप्लिमेन्ट पनि खान हुँदैन । नियमित व्यायामले रक्तचाप र शरीरको तौललाई नियन्त्रण गर्छ, जसले पत्थरीको जोखिम कम गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here