माओवादीको सिको गरेर हाम्रा साथीहरूले पनि पार्टी सदस्य बढाएका रहेछन् : एमाले नेता रिजाल

0
5

काठमाडौं- नेकपा एमालेका नेता विष्णु रिजालले आफ्नो पार्टी अलोकप्रिय भएको र सदस्य घटेको भन्ने प्रचार भ्रमपूर्ण र अतिरञ्जनामात्र भएको दाबी गरेका छन् ।
‘हामी नेकपामा हुँदा माओवादीले एकै घरका पाँच-सात जना देखाएर अनावश्यक रुपमा पार्टी सदस्य बढाएपछि हाम्रा साथीहरुले पनि बढाएको देखियो । त्यो वास्तविक संख्या थिएन । त्यसयता कोही विदेश, कोही निष्क्रिय र कोही निधन भएकाले अद्यावधिक गर्दा केही घटेको अवश्य हो । जस्तोः दसौं महाधिवेशनमा कर्णाली प्रदेशमा ६२ हजार पार्टी सदस्यता थियो, अहिले ४७ हजार कायम भएको छ । देशभरिमा यस्तै यस्तै होला । हामी संख्या र होहल्ला होइन, अनुशासित र बलियो पार्टी चाहन्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै पार्टीको वडा कमिटीको संख्या ४१ भए पनि २५ भोट मात्र ल्याएको भनी कटाक्ष गरेको पनि स्मरण गरे । साथै उनले एमालेका सदस्य माओवादीमा लागेको कुरा पनि सत्य नभएको औंल्याए । उनले भने, ‘माधव नेपालको पार्टीले एमालेबाटै सदस्यहरु लिएको हो । तर माओवादी केन्द्रमा हाम्रो एक जना पनि गएको छैन ।’ अब रास्वपा, नागरिक उन्मुक्ति, जनमत, राप्रपाको चुनौती सामना गर्दै बलियो पार्टी बनाउने अभियानमा एमाले लागेको पनि रिजालले बताए । उनले भने, ‘हामी कमजोरहरुबीचको बलियो होइन, बलियोहरुबीचको बलियो पार्टी बन्ने हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here