माओवादीको सती जान सक्दैनौं : कांग्रेस सांसद

0
3

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले मुलुकमा आफ्नो पार्टीको सरकार छ भन्ने अनुभूति गर्न नसकेको बताएका छन् ।
‘तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने कुराभन्दा पनि हामीले गठबन्धन टिकोस् भन्ने नै चाहेका छौं । तर उसका गतिविधिले हामीलाई झस्काएको छ । संसदीय दलको जारी बैठकमा सरकारमा भएको अनुभूति भएन भन्ने आवाज सांसद साथीहरुले उठाइरहनुभएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सांसद गौतमले माओवादीले एकलौटी सरकार जसरी व्यवहार गरिरहेको आरोप पनि लगाए । उनले भने, ‘सरकारका काम कारबाही निष्पक्ष भएनन् । हरेक सांसदलाई गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा माग्ने सार्वभौम अधिकार छ । संसद् चलिरहेका बेला राजीनामा मागेकै भरमा छापामार शैलीमा समात्ने, मिसबिहेभ गर्ने ? न सभामुखलाई थाहा छ, न प्रमुख सचेतकलाई थाहा छ । सांसद सुनील शर्माको अभिव्यक्तिमा सबैभन्दा आपत्ति त कांग्रेसलाई पो हुनुपर्ने हो । यो माओवादीको एकलौटी सरकार हो र ? हामी माओवादीको सती जान सक्दैनौं ।’
उनले सरकारले कांग्रेसप्रति पूर्वाग्रही भएको आरोप पनि लगाए । गौतमले भने, ‘माओवादी नेताहरुको यत्रो कुरा आएको छ, उनीहरुमाथि छानबिन नै नहुने । कसैलाई समात्ने, कसैलाई उन्मुक्ति दिने काम हुन सक्दैन । यसरी पूर्वाग्रही भएर कसरी छानबिन हुन सक्छ ?’
संसद्को अवरोध हटाउनका लागि उच्चस्तरीय छानबिन समिति बनाएर जनतालाई सत्य तथ्य जानकारी गराउनुपर्ने पनि गौतमले औंल्याए । उनले भने, ‘भ्रष्टाचारको मुद्दामा शून्य सहनशीलताबाट अघि बढ्नु पर्छ । संसद्को अवरोध हटाउनुपर्छ । संसद् भनेको प्रतिपक्षको हो । उसले संसद्को सदुपयोग गर्नुपर्नेमा अवरोध गरिरहेको छ । संसद् अवरुद्ध गर्ने त उसको संस्कार भइसक्यो । कमसेकम सरकारको एक निकायले आँखा चिम्लिए पनि अर्को निकायले सुन त समातियो र यति कुरा उजागर भयो ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्दीकरण आयोग प्रधानमन्त्रीको छायामा परेको पनि सांसद गौतमले औंल्याए । उनले भने, ‘अख्तियार प्रमुख आफैं विवादित हुनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्दीकरण आयोगलाई काम गर्न कसले रोकेको ? यस्ता निकायलाई प्रधानमन्त्री मातहत राख्नु हुँदैन भनेको त्यही कारण हो । प्रधानमन्त्रीको मुख ताकेर बसेका छन् । प्रधानमन्त्रीको छायामा परेकाले उनीहरुका काम कारबाही प्रभावकारी भएनन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here