महँगियो तरकारी

0
5

काठमाडौं- “कमाइ तीन वर्षदेखि उस्तै छ, महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिररहँदा असन चोकमा भेटिएकी पवित्रा थापाको अनुहार मलिन देखिन्थ्यो ।

“एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, नुन मसला छँदै छ । दैनिक साढे पाँच सय रुपियाँ कमाउनेले एक छाकको एक सय रुपियाँको तरकारी किनेर कसरी खान सक्छ?” उनको प्रश्न रहेको छ । थापाका श्रीमान् न्युरोडको बैङ्कमा सुरक्षा गार्डका रूपमा कार्यरत छन्।

थापाका श्रीमानको मासिक तलब साढे १५ हजार रुपियाँ छ । हुन त उहाँका श्रीमानको तलब सरकारले न्यूनतम पारिश्रमिक अनुसार छ तर यो तलबले अहिलेको महँगीमा आफूसहित चार जनाको परिवारलाई दाल र भात मात्रै खान पनि गाह्रो छ । महँगो तरकारी कसरी खाने ?

“तरकारी महँगो भए पनि राम्रो पाए त हुन्थ्यो नि, किनिहाल्ने खालको तरकारी नै देखिँदैन । हेर्दै बासी जस्तो छ,” असन चोकमै तरकारीको भाउ बुझ्दै गरेका विनोद पोखरेलले थपिन्। थोरै र सीमित आय भएकालाई मात्रै होइन, मध्यम वर्गमा पनि राम्रै आय भएकालाई समेत भान्छा चलाउन गाह्रो भएको अनुभव उनले सुनाइन्।

तरकारीको महँगीले उपभोक्तालाई मात्रै असर गरेको छैन, व्यापारीसमेत व्यापार नभएर चिन्तित छन् । कालीमाटीको खुद्रा बजारमा व्यापार गर्ने काशीनाथ कार्की महँगो तिरेर ल्याएको तरकारी देख्दा पनि राम्रो र आकर्षक नभएकाले बिक्री नभएर चिन्तित छन्।

कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार बर्खा सुरु भएसँगै तरकारीको भाउमा दिनदिनै उतारचढाव आइरहेको छ।

पछिल्लो साता तरकारी आयात घटेकाले मूल्य बढेको मात्रै होइन, राम्रो तरकारी पाउनै गाह्रो भएको उनले बताए ।

आचार्यका अनुसार पछिल्लो पटक आलु, प्याज, गोलभेँडाको भाउ उच्चदरमा वृद्धि भए पनि मौसमी तरकारीसमेत बढिरहेको छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here