मनसुनसँगै बाढीपहिरोको पीडा

0
4

काठमाडौं- मनसुन सुरु भएसँगै देशव्यापी रूपमा बाढीपहिरोको कहर सुरु भएको छ । असार १ गतेदेखि यता बाढी र पहिरोबाट १७ जनाको ज्यान गएको छ । तीमध्ये पहिरोले सबैभन्दा बढी १५ जनाको ज्यान लिएको छ । बाढीपहिरोमा परेर बेपत्ता भएका २६ जना अझै भेटिएका छैनन् । नेपालमा असार १ गते मनसुन भित्रिएको हो ।

गृह मन्त्रालयस्थित विपत् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार असार १ गतेदेखि यता ४३ घरमा पूर्ण क्षति पुगेको छ भने ११७ घरमा आंशिक क्षति पुगेको छ । शाखाका अनुसार ओखलढुङ्गामा पहिरोले चार जना, सङ्खुवासभा र तनहुँमा दुईरदुई जना, ताप्लेजुङमा तीन जना, नुवाकोट र गोरखामा एकरएक जनाको मृत्यु भएको छ । बाढीले भोजपुरमा एक जना, पाँचथरमा तीन जनाको बाढीले बगाएर मृत्यु भएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले बाढीपहिरोमा परेर हराइरहेका २६ जनाको खोजी कार्य जारी रहे पनि हालसम्म कोही पनि फेला पर्न नसकेको जानकारी दिए। उनले भने, “पहाडै पहिरो खसेकाले घरसँगै मानिसहरू निकै गहिरो गरी पुरिएकाले उद्धार गर्न कठिन भएको छ ।” उनका अनुसार सबैभन्दा बढी सङ्खुवासभामा २० जना हराइरहेका छन् । .

ताप्लेजुङमा तीन जना पहिरोमा पुरिएका छन् । पाँचथरमा भने बाढीले बगाएका तीन जना भेटिएका छैनन् । सङ्खुवासभामा पहाड भासिँदा फेदका घरबस्ती करिब डेढ सय फिट गहिराइमा पुरिएका छन् । ती क्षेत्रमा बाढीपहिरोको पीडाबाट बचेर ओडार तथा खोँचमा लुकेर बसेका घाइते तथा जोखिममा परेका १५ जनाको भने सकुशल उद्धार गरिएको छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here