भूउपग्रह बनाउँदै सामुदायिक विद्यालयका विद्यार्थी

0
7

काभ्रेपलाञ्चोक- प्रक्षेपणको अन्तिम तयारीमा रहेको नेपालको आफ्नै भूउपग्रह ‘मुनाल’को निर्माण सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार्थीले गरिरहेका छन् । निर्माण कार्य राजधानी काठमाडौँमा नभएर मोफसलमै भइरहेको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको काठमाडौँ विश्वविद्यालय हाइस्कुलको प्रयोगशालामा मुनाल निर्माण भइरहेको छ । काभ्रेका तीनवटा सामुदायिक विद्यालय र काठमाडौँ विश्वविद्यालय हाइस्कुलका विद्यार्थी निर्माण कार्यमा जुटिरहेका छन् । नौ जना विद्यार्थीको समूहमा रहेका चैतन्य माध्यमिक विद्यालय बनेपाका विद्यार्थी सङ्गीता मैनाली भने विज्ञानको विद्यार्थी नभएर व्यवस्थापनको विद्यार्थी हुन् । अध्ययन र अनुसन्धान गर्न इच्छाशक्ति नै मुख्य कुरा रहेको प्रमाणित मैनालीले गरिरहेका छन्। उनको लगाव र खोजी गर्न सक्ने क्षमता देखेर उनीहरूको कार्यको नेतृत्व गरिरहेका अन्तरिक्ष प्रतिष्ठानका आभास मास्केले प्रशंसा गरेका छन् । सो कार्यमा छ जना इन्जिनियरले समेत काम गरिरहेका छन् । त्यसको नेतृत्व जनार्दन सिलवालले गरेका छन्। मुनालको निर्माण कार्यले जीवनमा धेरै कुरा सिक्ने मौका पाएकोमा विद्यार्थी खुसी छन् तर समय मिलाउन भने उनीहरूका लागि निकै चुनौतीपूर्ण छ । नियमित अध्ययनबाहेक नै घण्टौँ समय मुनाल निर्माणमा दिएका विद्यार्थीले १६ महिनाको लामो मेहनतपछि तेस्रो चरण पूरा गरेपछि मङ्गलबार खुसी साटासाटसमेत गरेका छन् । सामुदायिक विद्यालयका विद्यार्थीले पाएको अवसरलाई सही रूपमा प्रयोग गर्दै आफूलाई अब्बल रहेको प्रमाणित यो परियोजनाले गराउँदै छ । भूउपग्रहको पहिलो, दोस्रो र तेस्रो चरण सफलतापूर्वक सम्पन्न भएको छ । अब तोकिएकै समयमा प्रक्षेपणको तयारी मुनालले गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ–प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठानले निर्माण गरेको मुनालको तेस्रो चरण पूरा गरेर भारतको अनन्त टेक्नोलोजीमा लगेर स्पेस इन्भारोमेन्ट टेस्ट गराएसँगै प्रक्षेपणका लागि योग्य ठहरिएको छ । भूउपग्रहलाई बेस्सरी हल्लाउने भ्याकुममा राखेर बेस्सरी तातो र चिसो बनाउने परीक्षण पूरा भएका छन् । मास्केका अनुसार यी दुवै परीक्षणलाई ‘स्पेस इन्भारोमेन्ट टेस्ट’ भन्ने गरिन्छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here