भारतीय मजदुर द्वारा रुपन्देहीमा दुई नेपाली माथि खुकुरी प्रहार, एकको मृत्यु, एक घाइते

0
18

बुटवल – खुकुरी प्रहारबाट रुपन्देहीमा एक जनाको हत्या भएको छ । अर्का एकजना घाइते भएका छन् । एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट रुपन्देही जिल्लाको शुद्धोधन-३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता-३ का अवधेश चमारको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार राति रवि सिंहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते चमारको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए । मादक पदार्थ सेवन गरेपछि मजदुरबीच विवाद भएको र त्यसपछि खुकुरी प्रहार भएको पाइएको डीएसपी थापाले बताए । रविले अवधेशलाई खुकुरी हानेपछि उनका बुवा गोपिचन्दलाई समेत प्रहार गरेका थिए । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सिंहलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here