भदौ पहिलो साताबाट स्थानीय तहको अधिवेशन सुरु गर्ने नेपाली काँग्रेसको तयारि

0
17

काठमाडौँ – नेपाली काँग्रेसले देशभरका सबै जिल्लाको क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिएर भदौ पहिलो साताबाट स्थानीय तहको अधिवेशन सुरु गर्ने भएको छ। पार्टीको शीर्ष नेतृत्वले बिहीबारसम्ममा क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिने बताइएको छ। सदस्यता टुङ्गो लागेपछि स्थानीय तह अधिवेशनको कार्यतालिका सार्वजनिक गरिने काँग्रेसले जनाएको छ। महाधिवेशन तयारीबारे जानकारी दिँदै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनको मतदाता रहेका क्रियाशील सदस्यताको विवाद मिलेपछि अधिवेशन सम्पन्न गर्न सहज हुने बताए। यसअघि बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यताको विवाद देखिएका जिल्लाको विवाद मिलाउने जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वलाई दिँदै पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो। उनले पार्टीमा विशेष महाधिवेशनको सम्भावना नरहेको र पार्टी सभापति देउवा विशेष महाधिवेशन नभई विधिवत् रूपमा पूर्ण महाधिवेशनकै पक्षमा रहेको बताए। यसअघिको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि सभापति देउवाले आफू भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहेको बताएका थिए।
पार्टीमा अब धनुषा, सर्लाही, बारा, सप्तरी, सिन्धुपाल्चोक र रसुवा गरी छवटा जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान गर्न बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here